तपाईँ सुन्दै हुनुहुन्छः

पातारासीमा ४० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल सञ्चालन

पातारासी गाउँपालिकाले तयार गरेको आइसोलेसन बेड । तस्बिर : सागर परियार ।

जुम्ला । पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । जुम्लाको पूर्वमा स्थित पातारासीले ४० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बुधवारदेखि सञ्चालनमा ल्याएको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।

उहाँले भन्नुभयो,“होम आइसोलेसनका कारण गाउँमा संक्रमण भयावह हुन थाल्यो । नागरिक जोगाउन संक्रमण रोकथाम गर्न संस्थागत आइसोलेसनको विकल्प देखिएन । त्यसैले हामीले तत्काल संस्थागत आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएका हौ ।”

लक्षण भएका तर अक्सिजन दिनु नपर्ने घरमा असुरक्षित महसुस गरेका सबै सङ्क्रमितलाई होम आइसोलेसनबाट संस्थागत आइसोलेसनमा ल्याइने समेत अध्यक्ष बोहराको भनाई छ ।

विशेषज्ञ डाक्टर औषधी उपचार सहितको आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“संक्रमण रोकथाम तथा नागरिकलाई जोगाउन हामी पूर्वतयारमा छौ । विशेषज्ञ डाक्टर संक्रमित बोक्ने निःशुल्क एम्बुलेन्स,तयारी अवस्थामा छ । जटिल खालका समस्या समाधान गर्नका लागि पालिकास्तरमा द्रुत प्रतिकार्य टिम समेत गठन गरिएको छ ।”

सुत्केरीलाई निःशुल्क बोक्ने र सङ्क्रमितलाई निःशुल्क बोक्ने गरी २ वटा एम्बुलेन्स छुट्टाछुट्टै व्यवस्था गरिएको छ । साथै पातारासीका सबै वडा वडामा पुगेर अध्यक्षको नेतृत्वमा कोरोना विरुद्धको सचेतना अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले उल्लेख गर्नुभयो ।
जुम्लाका आठ स्थानीय तहले होम आइसोलेसनले संक्रमण गाउँ गाउँमा फैलिएको र तत्काल सबैले संस्थागत आइसोलेसन बनाउनु पर्ने निर्णय गरेपनि अन्य सात स्थानीयतहले भने संस्थागत आइसोलेसन तयार गरेका छैनन् ।

जिल्लाको दुर्गम पातारासी गाउँपालिकाले संक्रमण रोकथामका लागि सुरुदेखि उल्लेखनीय काम मात्र गरेन गरेको निर्णय तत्तकाल कार्यन्वयन गर्यो । तर, सङ्क्रमितको सङ्ख्या सबैभन्दा उच्च रहेको चन्दननाथ नगरपालिकामा भने अहिलेसम्म संस्थागत आइसोलेसन निर्माण हुन सकेको छैन ।

डिसिसिएमसिको बैठकले समेत चन्दननाथ नगरपालिकालाई तत्काल संस्थागत आइसोलेसन बनाउन दबाब दिएको थियो । डिसिसिएमसिले जिल्लामै पातारासीले संस्थागत आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएकोमा धन्यवाद दिइएको छ ।

अन्य तहले पनि निर्णय कार्यान्वयन गरेनन्

जुम्लाका आठ स्थानीय तह मध्य पातारासी गाउँपालिका बाहेक अन्य स्थानीयले औपचारिक रुपमा संस्थागत आईसोलेन निर्माण तथा सञ्चालन गरेका छैनन् । वैशाख ३१ गते बसेको डिसिसिएमसीको बैठकले आठै तहमा ३० देखि ५० बेडको संस्थागत आइसोलेसन बनाउने निर्णय गरेको थियो । विवरण अनुसार पातारासी र कनकासुन्दरी गाउँपालिका बाहेक अन्य स्थानीयतहले आफैले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन नगरेको पाइएको छ ।

तत्कालै संस्थागत आइसोलेसन बनाउँछौ, चिकित्सक कर्णाली प्रतिष्ठानले सहयोग गरिदिनुपर्‍यो भनेर निर्णयमा हस्ताक्षर गरेका सिंजा,हिमा,तिला, तातोपानी र गुठिचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले अहिलेसम्म आइसोलेसन बनाउन सकेका छैनन् ।

यता कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक राजिश शाह भन्छन्,“हामी सबै स्थानीयतहमा विशेषज्ञ चिकित्सक पठाउन तयार छौ । तर स्थानीय तहको सक्रियता देखिएन । होम आइसोलेसनले दैनिक संक्रमण बढ्दै छ । अहिलेसम्म कुनै स्थानीयतहले चिकित्सकको माग गरेका छैनन् ।”

गाउँ गाउँमा संक्रमण भयावह रुपमा फैलिएर नागरिक त्रसित हुँदा पनि स्थानीयतहले संस्थागत आईसोलेन बनाउन कन्जुसाई गरिरहेको प्रति नागरिक अगुवा राज बहादुर महतले आक्रोश पोखे ।

मङ्गलवारसम्मको विवरण अनुसार जुम्लामा कुल सङ्क्रमितको सङ्ख्या २ सय ७९ पुगेको छ । जसमा १ सय ५७ जना संक्रमित घरमा बसेका छन् । प्रतिष्ठानको आइसोलेसनमा २५ जना मात्रै छन् । भने, ७८ जना निको भएर घर फर्किएका छन् ।
जुम्लाका कुल संक्रमित मध्य ९३ जना चन्दननाथ नगरपालिकामै छन् । जस मध्ये ९५ प्रतिशत संक्रमित घरमै बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button