तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते युवकको मृत्यु

रुपन्देही । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका एक युवकको थप उपचारका लागि बुटवलमा ल्याउँदै गर्दा मृत्यु भएको छ ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) मा आएको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर घाइते प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
उनको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो ।
सुरुमा ५÷७ जनाको समूहमा आएका व्यक्तिहरूलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए ।
स्थानीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ ।
ठुलो समूहमा आएका गाउँलेले प्रहरीमाथि ढुंगामुढा गरेको र भिड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।
भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिए पनि नियन्त्रणमा लिन नसकेपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो ।
भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायव निरीक्षक शङ्कर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button