तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पताललाई १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन । चितवन उद्योग सङ्घले भरतपुर अस्पताललाई १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
चितवनमा कोरोना सङ्क्रमितको चाप बढ्दै जाँ दा अस्पतालहरूमा अक्सिजनको अभाव नहोस् र सरकारलाई पनि सहयोग पुगोस् भन्ने उद्देश्यले इलेक्ट्रिक कन्सन्ट्रेटर उपकरण सहयोग गरिएको सङ्घले जानकारी दिएको छ ।
उद्योग संघका पदाधिकारी सहितको टोलीले मङ्गलवार अस्पताल समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई उक्त उपकरण सहयोग गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वसँगै मानवीय सेवाको लागि सङ्घको तर्फबाट उपकरण सहयोग गरिएको बताउनुभयो  ।
“यसअघि हामी सिलिण्डर सङ्कलन र हस्तान्तरण कार्यमा सक्रिय थियौँ पौडेलले भन्नुभयो, अहिले सिधैँ अक्सिजन दिन मिल्ने मेसिन सहयोग गरेका छौँ ।” यस उपकरण बिद्युत् लाइनमा जोडिसकेपछि आफै उत्पादन गर्नेछ ।
सङ्घले ८० हजार प्रतिगोटा पर्ने ८ लाख मूल्यका उक्त उपकरण १० थान सहयोग गरेको हो ।
यस्ता सहयोगलाई सङ्घले आगामी दिनमा पनि निरन्तरता दिने उहाँको भनाई थियो ।
उक्त मेसिन सङ्क्रमितको सुरुको उपचारका साथै होम आइसोलेसनमा बस्ने सङ्क्रमितका लागि बढी लाभदायक हुने उहाँको भनाई छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले विभिन्न सङ्घ–संस्थाहरूले स्वास्थ्य सामाग्रीहरू वितरण गरेर बिरामीको सहज उपचार गर्न सकिने बताउनुभयो ।
उहाँले मानवीय सेवाको लागि निजी तथा सामाजिक संस्थाको सहयोग उत्तिकै महत्त्व रहेको बताउनुभयो  ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी, भरतपुर अस्पतालका कार्यवाहक मेसु डा.जगन्नाथ तिवारी लगायतको सहभागिता रहेको थियो  थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button