तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सकसहितको आइसोलेसन बनाउँदै तनहुँका स्थानीय तह

तनहुँ ।  कोभिड–१९ बाट संक्रमितहरु बढ्दै जान थालेपछि तनहुँका स्थानीय तहहरू आवश्यक तयारीमा जुटेका छन् ।
सङ्क्रमितहरूले अस्पतालमा स्थान नपाउने स्थितिलाई मध्यनजर गर्दै यहाँका अधिकांश स्थानीय तहले अक्सिजन सहितका अस्थायी आइसोलेसन सेन्टर स्थापना गर्न थालेका हुन् ।
यहाँका १० स्थानीय तहहरूले ५ देखि ५२ बेड सम्मका आइसोलेसन निर्माण गरेपछि जिल्लामा १ सय १८ आइसोलेसन तयार भएका छन् ।
व्यास नगरपालिका प्रवक्ता मोहन कुमार श्रेष्ठले नगरपालिकामा अक्सिजन सहितको ५२ बेड क्षमताका आइसोलेसन तयार गर्नुका साथै सङ्क्रमितहरूको सेवाका लागि एउटा एम्बुलेन्सको व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले कृषि विकास बैकको पुरानो भवनको आइसोलेसनमा बिरामीहरूको उपचारका लागि एक जना एमबिबिएस चिकित्सकको समेत नियुक्त गरिएको  बताउनुभयो ।
यस्तै दमौलीमा नै रहेको दमौली अस्पतालमा पनि १८ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
यहाँ  एक भेन्टिलेटरसहित ७ सघन कक्ष निर्माण गरिएको अस्पतालका प्रशासन प्रमुख गुरुदत्त घिमिरेले बताउनुभयो ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लामा भिमाद नगरपालिकाले ५ बेडको आइसोलेसनसहित एक एम्बुलेन्स, शुक्लागण्डकी नगरपालिका २० बेडको आइसोलेसनसहित आवश्यक पर्ने अक्सिजन नगरमै व्यवस्था गर्ने भएको छ ।
यस्तै ऋषिङ्ग गाउँपालिका पनि १० बेड क्षमताको आइसोलेसन निर्माण गरिसकेको छ भने १० बेड थप गर्ने तयार भएको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आइसोलेसनमा स्वास्थ्यकर्मीको समेत सुविधा उपलब्ध गराउने तयारी भएको बताउनुभयो ।
यता बन्दिपुर गाउँपालिकामा १० बेडको आइसोलेसनसहित एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने यहाँ कोरोनाका सङ्क्रमितहरूलाई अक्सिजन आवश्यक परेमा गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा नै प्राप्त गर्न सकिनेछ ।
बन्दिपुर अस्पतालका मेडिकल अधिकृत डा.विमल दुवाडीले अस्पतालमा १० सिलिण्डर अक्सिजन रहेको जानकारी दिनुभयो ।
जिल्लाको आँबु खैरेनी गाउँपालिकासँग १ सय २२ वटा अक्सिजनका सिलिण्डर रहेका छन् भने यहाँका १२ बेडको आइसोलेसनसहित तीन वडा एम्बुलेन्सको व्यवस्थापन गरिएको छ ।
स्वास्थ्य प्रमुख अधिकारीका अनुसार जिल्लामा २ सय ४२ सिलिण्डर अक्सिजन मौजात राखिएको छ ।
शुक्लागण्डकी नगरपालिको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ३० बेड क्षमताको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
हरेक बेडमा पाइप लाइनमार्फत अक्सिजन पुर्‍याइएको र हाल १५ जना कोभिडका बिरामीको उपचार भइरहेको केन्द्रका निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रमा १४ जना डाक्टर, ११ जना नर्स र १४ जना पारामेडिक स्वास्थ्यकर्मी र अस्पतालको एउटा एम्बुलेन्स रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै भानु नगरपालिकामा ५ बेडको आइसोलेसनसहित ८ वटा अक्सिजनका सिलिण्डर र एउटा एम्बुलेन्स, देवघाट गाउँपालिकामा ५ बेडको आइसोलेसनसहित ८ सिलिण्डर र एक एम्बुलेन्स, म्याग्दे गाउँपालिकामा ५ बेडको आइसोलेसनसहित एक एम्बुलेन्स, घिरिङ्ग गाउँपालिकामा ५ बेडको आइसोलेसन र एक अक्सिजन सिलिण्डरको जोहो गरिएको छ ।
जिल्लाको देवघाटसँगै घिरिङ्ग गाउँपालिकामा स्वास्थ्यकर्मीको भने व्यवस्था गर्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button