तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा कोरोनाले छेकेन विकास निर्माणका काम

पर्वत । कोरोना कहरले देश त्रासमा भइरहेका बेला पर्वतमा भने विकास निर्माणका काममा कोरोना बाधक बनेको छैन ।
राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणका काममा कोरोनाले गत वर्ष जस्तो प्रभाव पारेको छैन ।
राष्ट्रिय गौरवको मध्य पहाडी लोक मार्ग, काली गण्डकी करिडोरसँगै शाखा तथा मूल सडकसँगै पुल निर्माणको काम कोरोनाका कारण रोकिएको छैन ।
मोदी खोलामा निर्माणाधीन ३ वटा जलविद्युत आयोजना, नयाँ मोदी लेखनाथ प्रसारण लाइन, काली गण्डकी कोरिडोर प्रसारण लाइनको काम सुचारु नै रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरे पनि विकास निर्माणका कार्य सुचारु रुपमा सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ ।
जिल्लामा सङ्घीय र प्रदेश सरकारमार्फत ग्रामीण सडकहरूमा कालो पत्रे गर्ने कार्यहरू पनि रोकिएका छैनन् । मध्य पहाडी लोक मार्गको २४ किलोमिटर खण्ड असारसम्म सक्ने गरी जिल्लामा अहिले धमाधम काम भइरहेको छ ।
लोक मार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेगराज मरासिनीले असारसम्म काम सक्ने गरी ठेकेदार कम्पनीले कामदार परिचालन गरेको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्यका मापदण्ड पालना गरेर कामदार खटाएको बताउनुभयो ।
पहिलो चरणको कोरोना सङ्क्रमणमा धेरै कामदार घर फर्किए पनि दोस्रो लहरको सङ्क्रमणमा भने मजदुरहरू कार्यस्थलमै छन् ।
मध्य मोदी जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले सुरुङको फिनिसिङ, पावर हाउसको पर्खाल उकास्ने लगायतका कामहरूमा कामदार परिचालन भएको जानकारी दिनुभयो ।
कोरोनाका कारण गरिएको निषेधाज्ञाले सामान ढुवानीमा भने केही समस्याहरू देखिएको आचार्यले बताउनुभयो ।
पूर्वाधार कार्यालयले सञ्चालन गरेका विकास निर्माणका काममा पनि कोरोनाको खासै प्रभाव नरहेको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।
गत वर्ष गाउँमा कामदारलाई बस्नै नदिने समस्या भए पनि यस वर्ष भने समुदायले कुरा बुझ्दै गएकाले कामदार परिचालनमा समस्या नरहेको आचार्यले बताउनुभयो ।
तर जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा फेरि समस्या हुने त्रास भने कायमै रहेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button