तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप सात जना कोरोना सङ्क्रमितको मृत्यु 

बीरगंज । बीरगंजमा उपचारको क्रममा आज थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बिरगंजस्थित नारायणी अस्पतालमा उपचाररत २ जना बीरगंज हेल्थ केयरमा ३ जना स्पर्श मल्टी स्पेस्यालिटी अस्पतालमा १ जना र तराई अस्पतालमा १ जना गरी ७ जनाको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा आज बिहान १०ः०० बजे रौतहटको गौर नगरपालिका वडा नम्बर ८ निवासी ५१ बर्षीया महिलाको मृत्यु भएको छ ।
वैशाख ३० गते कोरोना संक्रमित भई उपचारका लागि भर्ना भएकी महिलाको आज बिहान उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
यस्तै नारायणी अस्पतालमा उपचाररत रौतहटकै चन्द्रपुर नगरपालिका वडा नम्बर ९ निवासी ९० वर्षीय पुरुषको समेत मृत्यु भएको छ ।
उपचारका लागि जेठ ४ गते बीरगंज ल्याइएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा.दासले जानकारी दिनुभयो ।
यसै गरी आज बिहान कोरोना सङ्क्रमणको कारण पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ निवासी ४२ वर्षीय पुरुषको तराई अस्पतालमा बीरगंज महानगरपालिका वडा नम्बर १४ निवासी ४८ वर्षीय पुरुष, बीरगंज महानगरपालिका वडा नम्बर १३ निवासी ६१ वर्षीय पुरुष, बीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी ४१ वर्षीय पुरुषको बीरगंज हेल्थ केयरमा र बीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ६५ वर्षीय पुरुषको स्पर्श मल्टी स्पेस्यालिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button