तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तर्राष्ट्रिय उडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा आज एकै दिन १३ अन्तर्राष्ट्रिय उडान भएका छन् ।
विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम(एयरलाइन्स)को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ ।
नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्य तालिका छ ।
भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ ।
यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान गर्नेछ । सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौँ ल्याउँदै छ भने एयर चार्टर्ड सर्भिसको काठमाडौँ–दिल्ली उडान भएको छ ।
मङ्गलवार ११ उडान निर्धारण गरिएको थियो । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी १० उडान सञ्चालन हुनेछन् । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका हुन् ।
अन्तर्राष्ट्रिय उडान माथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगायतको थियो । आन्तरिक उडान पनि वैशाख १६ देखि स्थगित छ ।
यो बीचमा नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरूप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरूप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन भइरहेको छ ।
राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याउने निर्णय भएको छ । गत वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button