तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा आइसोलेसन पश्चात् पिसिआर परीक्षण प्रयोगशाला पनि बन्दै 

तनहुँ ।  संयुक्त लगानीमा कोभिड सङ्क्रमितहरूको उपचार गर्न आइसोलेसन सेन्टर निर्माण गरेका तनहुँका १० स्थानीय तहहरूले अब पिसिआर परीक्षण प्रयोगशाला पनि जिल्लामा नै निर्माण गर्ने भएका छन् ।
सङ्क्रमितहरूको स्वाब सङ्कलन गरी पोखरा पठाउँदा रिपोर्ट आउन ढिला भएपछि जिल्लामा नै प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको हो ।
बुधवार दमौलीमा सम्पन्न भएको अन्तर पालिका स्तरीय बैठकमा ब्यास नगरपालिका १० दुम्सी बजारको आधारभूत स्वास्थ्य कार्यालयमा प्रयोगशाला स्थापना गर्ने सहमति भएको हो ।
ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक प्रक्रियाको थालनी व्यासको नेतृत्वमा गर्ने भएको हो ।
उक्त प्रयोगशालामा गतबर्ष रोटरी क्लब अन्तर्राष्ट्रिय ३२९२ले प्रदान गरेको एक थान पोर्टेवल मेसिन समेत जडान गरिने ब्यास नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गत बर्ष नै प्रयोगशाला स्थापना गर्ने तयारी गरेका यहाँका स्थानीय तहहरूले संक्रमण घट्नुका साथै पोखराबाट सङ्क्रमितको रिपोर्ट तत्काल आउन थालेपछि निर्णयबाट पछि हटेको थियो ।
यहाँका स्थानीयहरूले शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र(अस्पताल) परिसरमा ३० बेडको आइसोलेसन भवन निर्माण गरिसकेका छन् ।
यस्तै जिल्लाको जिपी कोइराला अस्पताल र दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button