तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा निषेधाज्ञामा औषधि पसलबाहेक सबै बन्द गर्ने निर्णय

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सदरमुकाम हेटौँडामा पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारीद्वारा बजार क्षेत्रमा निषेधाज्ञा पूर्णरुपमा जारी गर्ने निर्णय गरेको हो ।
प्रशासनले हेटौँडाको मुख्य बजार क्षेत्र पूर्वमा क्याम्पाडाँडा, पश्चिममा राप्ति पुल, उत्तरमा चौकी टोल र दक्षिणमा कर्रा पुलसम्म औषधि पसल र अक्सिजन सिलिन्डर बिक्री गर्ने पसलबाहेक कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार खाद्यान्न तथा फलफूल, तरकारी बजारमा अत्यधिक भिडभाड बढेपछि भोलिदेखि औषधि पसल र अक्सिजन सिलिन्डर बिक्री गर्ने पसलबाहेक कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने जानकारी दिनुभयो । यस्तै उक्त क्षेत्रमा कुनै पनि कामको लागि बाहिर निस्कन नपाइने समेत उहाँले जानकारी दिनुभयो ।
यसअघि प्रशासनले मङ्गलवार र शुक्रवार दुई दिन बिहान ३ घण्टा खाद्यान्न र तरकारी पसल खोल्न पाइने निर्णय गरेको थियो । यस्तै आजको बैठकले खाद्यान्न तथा तरकारीहरू सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल–टोलमा पुर्‍याउने व्यवस्था मिलाउने निर्णय गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button