तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा निषेधाज्ञा जेठ १३  गतेसम्म थप

धनगढी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कैलालीमा जारी निषेधाज्ञाको अवधि जेठ १३ गतेसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जारी गरेको आदेशमा निषेधाज्ञाको अवधि जेठ  १३ गते सम्मका लागी थप गरिएको उल्लेख छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय सिफारिसका आधारमा निषेधाज्ञाको अवधि थपिएको र निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने छ,  जारी आदेशमा भनिएको छ ।
यसै गरी बैक तथा वित्तीय संस्था सञ्चालनका लागि बढीमा ३ जना कर्मचारी रहने गरी राजस्व दाखिला र सरकारी कारोबार बाहेक वित्तीय संस्थाको सबै सेवा बन्द गरी अत्यावश्यक भुक्तानी विद्युतीय प्रणालीबाट प्रबन्ध गर्न भनिएको छ ।
यस्तै राष्ट्रिय गौरवका आयोजनाको हकमा निर्माण सामाग्री, उपकरण, कामदार निर्माण स्थलमै राखी निर्माण कार्य गर्ने बाहेक अन्य सबै निर्माण कार्य बन्द गर्ने तथा विवाहमा २ वटा गाडीमा बढीमा १० जनासम्म सहभागी हुन पाउने छन्, आदेशमा उल्लेख गरिएको छ ।
कैलालीमा पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि वैशाख ३० गतेसम्म र पछिल्लो समय जेठ ६ गते (भोलि)सम्म आदेश जारी गरेको थियो ।
कोरोना संक्रमण दर उच्च रहेको कैलालीमा कोरोना सङ्क्रमणबाट हालसम्म २ सय १५ जनाको निधन भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।
सेती प्रादेशिक अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान गरी अक्सिजन आपूर्ति
कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरी अक्सिजन आपूर्ति थालिएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर हेमराज पाण्डेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिनुभएको छ ।
सङ्घीय सरकारबाट प्राप्त २४ वटा, प्रदेश सरकारले उपलब्ध गराएको ६ वटा र दाताले दिएका ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट निर्वाध रुपमा अक्सिजन आपूर्ति भइरहेको छ, यसबाट सङ्क्रमितहरूलाई धेरै हदसम्म राहतपूर्वक उपचार भइरहेको छ, विज्ञप्ति भनिएको छ ।
हाल अस्पतालको अक्सिजन प्लान्टबाट निरन्तर अक्सिजन उत्पादन भइरहेको र थप अपुग अक्सिजन खरिद गरी चक्रीय प्रणालीमा अक्सिजन आपूर्ति भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
हाल अस्पतालमा १ सय २२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । ती मध्य १ सय १ जनाको अक्सिजन सर्पोट भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button