तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा जिल्लामा २ सय ४९ मा कोरोनाको पुष्टि

जनकपुरधाम । धनुषा जिल्लामा एक्कै दिन २ सय ४९ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको छ ।
कूल ५ सय ४४ वटा नमुनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमणको पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
पछिल्लो पटक थप भएको कोरोनाका संक्रमित सँगै धनुषामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय १७ पुगेको पनि सो कार्यालयले जनाएको छ । संक्रमित मध्ये अधिकांश संक्रमितहरु होम आइसोलेसनमा रहनु भएको छ ।
धनुषामा यत्रो ठुलो सङ्ख्यामा पहिलो पटक कोरोनाका संक्रमित थप भएको छ । कोरोनाका संक्रमण गाउँ गाउँमा फैलिएको अनुमान गरिएको छ ।
एउटै वडामा ७० जनामा कोरोना पुष्टि
धनुषा जिल्लाको मिथिला नगरपालिकाको एउटै वडामा ७० भन्दा बढीमा कोरोनाको सङ्क्रमणको पुष्टि भएको छ ।
उक्त वडाका धेरै व्यक्तिहरूमा रुघा खोकी सहित ज्वरो आएपछि नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेर १०० जनाको स्वाबको नमुना सङ्कलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमणको पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिनु भएको छ ।
एक सय जनाको स्वाबको नमुना सङ्कलन गर्दा त्यति जनामा कोरोना पुष्टि भएकाले अझै धेरैमा हुन सक्ने भएकाले सतर्कता सहित आ–आफ्नो घरमा नै बस्नका प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नुभयो ।
सो वडामा अझै धेरै जनामा सङ्क्रमणको आशङ्का गरिएकाले संक्रमण पुष्टि भएकाहरूलाई नगरपालिकाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम आइसोलेसन तथा केहीलाई नगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने तयारी गरिरहेको नगरप्रमुख हरिनारायण महतोले जानकारी दिनुभयो ।
यसै गरी चिकित्सक सहितको २० शय्याको कोरोना अस्पतालको तयारीमा आफूहरू जुटिरहेको पनि नगरप्रमुख महतोले जानकारी दिनुभयो ।
दुर्गम ग्रामीण क्षेत्रमा हाटबजारमा भिडभाड रोकिएन
स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जालो तोड्नका लागि जिल्ला भरि निषेधाज्ञा आदेश जारी गरे पनि अहिले प्रहरीको पहुँच कम भएको दुर्गम ग्रामीण क्षेत्रमा हाटबजार अन्य प्रकारको संस्कारहरूमा भिडभाड हुने क्रम रोकिएको छैन ।
आज जनताको स्वास्थ्यको सुरक्षाका लागि लागु भएको निषेधाज्ञा आदेशको पालना हरेकले गर्नु पर्नेमा नगरेका कारणले सङ्क्रमणको दर बढिरहेकोमा आफूहरूलाई चिन्तित बनाउने काम गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
तीन सातामा २ सय २९ सङ्क्रमितको मृत्यु 
प्रदेश नंं २ को विभिन्न जिल्लाहरूमा पछिल्लो तीन सातामा कोरोना सङ्क्रमणका कारण २ सय २९ जनाको मृत्यु भएको छ ।
कोरोनाको पहिलो लहरमा जम्मा २ सय ७ जनाको मृत्यु भएकोमा तीन सातामा मात्र थप डब्बल भन्दा बढी सङ्ख्यामा कोरोनाका सङ्क्रमितको मृत्यु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।
अहिलेसम्म प्रदेश नंं २ का विभिन्न जिल्लामा रेकर्डमा आएका ४ सय ३६ जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको छ । कोरोनाको दोस्रो लहरमा कोरोनाको संक्रमण तथा मृत्यु दर निक्कै उच्च रहेको छ । मान्छेहरूमा पनि सङ्क्रमणको पहिलो लहरमा देखिएको जस्तो सतर्कता नदेखिएका कारणले मृत्यु दर बढेको चिकित्सकहरूले दाबी गर्नु भएको छ ।
अहिलेसम्म प्रदेश नंं २ को बारा जिल्लामा सबै भन्दा बढी ९५ जनाको मृत्यु भएको छ । यसै गरी पर्सा जिल्लामा ८८ जना, रौतहटमा ६४ जना, धनुषामा ५६ जना, सप्तरीमा ५० जना, सिरहामा ४६ र सर्लाही जिल्लामा १५ जना तथा १ जना भारतीय नागरिकको कोरोना सङ्क्रमणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिनुभयो ।
यसका अतिरिक्त पनि कोरोनाको लक्षण जस्तै देखिने धेरै जनाको मृत्यु भए पनि परीक्षण नभएका कारणले मन्त्रालयको तथ्याङ्कमा समेटिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button