तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङमा बुधवार भूकम्प जाँदा ६ जना घाइते, २ सय घर पूर्ण रुपमा क्षति (विवरण सहित)

लमजुङ । लमजुङमा बुधवार बिहानै देखिको भूकम्प र निरन्तर पराकम्पले जनजीवन त्रसित बनेको छ । कोरोना कहरका बिच भूकम्प र त्यसपछिका पराकम्पले सर्वसाधारण त्रसित भएका हुन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधवार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नीच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसपछि ८ बजेर १६ मिनेटमा चार म्याग्नीच्युटको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेटमा पुनः ५.३ म्याग्नीच्युटको भूकम्प गएको थियो । त्यो बिचमा र त्यसपछि अपराह्न सम्म पनि दर्जनौँ पटक आएको पराकम्पले जनजीवन त्रसित बनेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार भूकम्पका कारण जिल्लामा हालसम्म ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बेसीशहर नगरपालिका वडा नं. ६ चनौटकी ३६ वर्षीया उमा गुरुङ, बेसीशहर–११, चिती रामचोककी ८७ वर्षीया खुकुमारी पाण्डे, मर्स्याङ्दी गाउँपालिका–६, ठुलो बेसीका २२ वर्षीय गोविन्द अधिकारी र बेसीशहर–८ बस्ने बर्ष २९ की खुशीमाया गुरुङ रहेको प्रहरीले जनाएको छ ।
चनौटेकी उमा गुरुङ घर भत्किएर पुरिएपछि स्थानीयले उद्धार गरेका थिए । गुरुङको दाहिने हात र र शरीरका अन्य भागहरूमा चोट लागेको छ । यसै गरी चिती रामचोककी ८७ बर्षीया बृद्धाको टाउको र खुट्टामा चोट लागेको थियो । ठुलो बेसीका अधिकारीको पनि टाउकोमा गम्भीर चोट लागेको छ भने सञ्चारकर्मी समेत रहेकी खुशी गुरुङको खुट्टामा चोट लागेको थियो ।
भूकम्पकै कारण दोर्दी गाउँपालिका–७, लप्सीबोटकी ८३ वर्षीया मंगलीमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामै उपचार भएको छ । यसै गरी भूकम्प जाँदै गर्दा भाग्ने क्रममा बेसीशहर–८ की सुमित्रा देवी श्रेष्ठ पनि घाइते भएको लमजुङका प्रहरी प्रमुख एवं प्रनाउ गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
घाइतेहरूमध्ये मर्स्याङ्दी–६, ठूलोबेसीका अधिकारीको सिटी स्क्यान र थप उपचारको निम्ति चितवन पठाइएको छ भने अन्य सवै जना उपचारपछि घर फर्किएका अस्पतालले जनाएको छ ।
भूकम्पका कारण जिल्लाका विभिन्न स्थानीय तहहरूमा ७ सय भन्दा बढी घरहरूमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लामा २ सय भन्दा बढी घर पूर्ण क्षति भएका छन् भने ५ सय भन्दा बढी घरमा आंशिक क्षति पुगेको  लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । भौगोलिक विकटता र कोरोना संक्रमण जोखिमका कारण यकिन तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको र पूर्ण तथ्याङ्क आउन अझै केही दिन लाग्ने प्रजिअ लुइँटेलले बताउनुभयो ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की मनाङलगायत काठमाडौँ उपत्यकामा समेत कम्पन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button