तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड अस्पताल सञ्चालनका लागि सहयोग समिति गठन

भोजपुर । भोजपुरमा बनाइएको कोभिड अस्पताल सञ्चालनका लागि सहयोग समिति गठन गरिएको छ ।
नागरिक स्तरबाट सहयोग गर्नका लागि भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष धुव्रलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय समिति बनेको हो । दैनिक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै जान थाले पछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार भोजपुर नगरपालिका वडा नम्बर ६ देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा अक्सिजन सहितको ५० बेड क्षमताको भोजपुर कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
भोजपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बनेको समितिका अन्य सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ भोजपुरका अध्यक्ष एक्सन राई, नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत तेजबहादुर श्रेष्ठ, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, महिला मानवअधिकार रक्षक सञ्जाल अध्यक्ष सुशीला तामाङ, मानवअधिकार सङ्गठन भोजपुरका अध्यक्ष निमा शेर्पा र पत्रकार महासङ्घ भोजपुरका सचिव अर्जुन बस्नेत रहेका छन् ।
समितिले कोभिड अस्पतालको लागि आवश्यक समन्वय गर्दे सहयोग सङ्कलन समेत गर्ने छ भने अस्पताल सञ्चालन, एम्बुलेन्स सञ्चालनका लागि अन्य सरोकारवाला निकायसँग समन्वय समेत गर्ने छ ।
समितिले हाल कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक लगायतको समस्या समाधानका लागि समन्वय गरिरहेको छ । समितिले देउरालीमा सञ्चालित कोभिड अस्पतालको  सञ्चालनका लागि जिल्ला भित्र र बाहिर रहेका व्यक्ति तथा सङ्घ संस्थासँग सहयोगको लागि आग्रह समेत गरेको छ । समितिले राष्ट्रिय वाणिज्य बैकमा खोलिएको खातामा समेत सहयोग जम्मा गर्न सकिने जनाएको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ९५ जना
भोजपुरमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९५ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय भोजपुरको तथ्याङ्क अनुसार मङ्गलवारसम्म ९१ जना संक्रमित रहेकोमा बुधवार ४ जना थपिएका छन् । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकामा ३ जना र भोजपुर नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन भने भोजपुर नगरपालिकाको शैक्षिक तालिम केन्द्र देउरालीमा रहेको कोभिड अस्पतालमा ४ जना र साल्पासिलिछो गाउँपालिकाको कुलुङमा १ जना गरी ५ जना संस्थागत आइसोलेसनमा उपचारार्थ छन् । भोजपुरका ९ वटा स्थानीय तह मध्ये जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिमा सबै भन्दा बढी ३३ जना संक्रमित देखिएका छन् ।
यसै गरी भोजपुर नगरपालिकामा २६ जना, रामप्रसाद राई गाउँपालिकामा २१ जना, आमचोक गाउँपालिकामा ९ जना, हतुपागढी गाउँपालिकामा ३ जना, अरुण गाउँपालिकामा २ जना र टेम्केमैयुङ गाउँपालिकामा १ जना गरी ९५ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म २ सय २८ जनाको पीसीआर परीक्षण गरिएको छ भने ५० जनाको नतिजा आउन बाँकी रहेको छ । एक जनालाई थप उपचारका लागि बाहिरी जिल्ला पठाइएको छ । भोजपुरमा हालसम्म कोरोना सङ्क्रमणका कारण भोजपुर नगरपालिका वडा नम्बर ९ का एक जनाको जिल्लाबाट काठमाडौँ लगेर उपचार गर्दा ज्यान गएको छ । यस्तै हाल ८८ जना संक्रमित होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button