तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १७४ सङ्क्रमित थपिँदा ५२३ जनाले कोरोना जितेर डिस्चार्ज

बाँके । बाँकेमा १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल २ सय ५५ जनामध्ये ८१ र बागेश्वरी ल्याबमा १ सय ८९ जनाको परीक्षण गर्दा ९३ जना गरी बाँकेमा १ सय ७४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
बुधवार थप भएका मध्ये बाँकेका ९१ जना रहेका छन् भने बाहिरी जिल्लाका ८३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनु भएको छ । थप भएका संक्रमितसहित बाँकेमा हालसम्म १५ हजार ९ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बुधवार २ सय २६ महिला र २ सय ९७ जना पुरुष गरी ५ सय २३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १३ हजार २ सय ११ जनाले कोरोना भाइरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाइरसबाट संक्रमित भएका २ हजार ४ सय ४२ जनाले होम आइसोलेसनमा स्वास्थ्यलाभ लिइरहेका छन् भने अस्पताल र आइसोलेसन सेन्टरमा ४ सय ५६ जना रहेका छन् ।
यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिरहेकाको सङ्ख्या १ सय ३४ जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभएको छ । हालसम्म बाँकेमा ४ सय ६२ जनाको निधन भएको छ ।
प्रहरीले सञ्चालनमा ल्यायो १० बेडको आइसोलेसन 
कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरूका लागि बाँके प्रहरीले छुट्टै १० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
महामारीको रुपमा फैलिरहेको कोभिड–१९ बाट संक्रमित प्रहरी कर्मचारीहरूलाई आइसोलेसनमा राख्नको लागि प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा आइसोलेसन केन्द्र सञ्चालन गरेको हो ।
मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जको सहयोगमा प्रहरीले नेपालगन्जको गणेशमान चोकमा रहेको निःशुल्क लागू औषध परामर्श केन्द्रको भवनमा उक्त आइसोलेसन केन्द्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाका अनुसार निर्माण गरिएको आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मी समेत खटिने गरी अक्सिजन सहितको १० वटा बेड क्षमता भएको आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।
दोस्रो चरणको कोरोना लहरमा बाँकेका ३९ जना प्रहरी कोरोना संक्रमित भइसकेका र ती मध्ये २८ जनाले कोरोनालाई परास्त गरिसकेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button