तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज

काठमाडौँ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज हुँदै छ । निर्वाचन आयोगले आज हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० जना र वाग्मती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय४८ जना मतदाता रहेको निर्वाचन मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचन हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचक मण्डलका सबै मतदाताहरूलाई आज (बिहीबार) बिहान ९ः०० बजेदेखि ३ः०० बजेसम्म हुने मतदानमा सहभागी हुन आयोगले अनुरोध गरेको छ ।हेटौंँडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् ।

स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

राष्ट्रियसभाको आजको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । निर्वाचनका लागि गृहमन्त्री थापासहित एमाले नेता कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, कृष्णबहादुर राईलगायत नेता हिजो बुधबार नै हेटौंँडा पुग्नुभएको छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button