तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट उप–प्राध्यापक सुवेदीको निधन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागका उप–प्राध्यापक शङ्कर सुवेदीको कोरोना सङ्क्रमणका कारण ४९ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमित भएपछि विगत एक साता देखि ललितपुर स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु कक्षमा उपचार गराइ रहनुभएका सुवेदीको आज बिहान करिब दुई बजे निधन भएको त्रि वि अङ्ग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुख जीवलाल सापकोटाले जानकारी दिनुभयो ।

विसं. २०२८ असार २३ गते पर्वतको कुस्मा नगरपालिका –१ पाङमा जन्मनुभएका सुवेदीले विसं. २०६२ सालबाट केन्द्रीय अङ्ग्रेजी विभागमा प्राध्यापन सुरु गर्नु भएको थियो ।

सुवेदी त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ विश्वविद्यालय इकाईका कोषाध्यक्ष पनि हुनुहुन्थ्यो।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ विश्वविद्यालय इकाईका अध्यक्ष प्रा. डा. मोतीलाल शर्मा भुसालले सुवेदीको निधनले अङ्ग्रेजी प्राध्यापन क्षेत्रले एक ऊर्जाशील व्यक्तित्व गुमाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button