तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका हिमाली पाटनहरूमा यार्सा गुम्बा सङ्कलकहरूको सङ्ख्या घट्यो

बझाङ।बझाङका हिमाली पाटनहरूमा यार्सा गुम्बा सङ्कलकहरूको सङ्ख्या घटेको छ । साइपाल गाउँपालिकामा पर्ने माझाँ, राइढुंगी, औलागाड लगायत दर्जनौँ पाटनहरूमा सङ्कलकहरू तँछाडमछाड गर्दै हरेक दिन बिहानदेखि साँझसम्म दौडिरहने समयमा यस बर्ष भने कमी भएको छ ।

साइपाल गाउँपालिकाका स्थानीयहरूको आम्दानीको स्रोत र जागिर यार्सागुम्बा नै भएकाले बालबालिका पढाउने र बढाउने सबै यार्साबाट कमाउने भन्दै जिल्लाका विभिन्न स्थानियतह तथा जिल्लाहरूबाट ३/४ दिन हिँडेर यार्सा सङ्कलन क्षेत्रमा पुग्ने सङ्कलकहरू अहिले भने कोरोना महामारी र मौसम परिवर्तनका कारण यार्सा सङ्कलकहरूको सङ्ख्या कम भएको यार्सा सङ्कलक तन्जन लामाले बताउनु भयो ।

उहाँले भन्नुभयो, “पहिला यार्सागुम्बा सङ्कलनका लागि साना बालबालिका समेत विद्यालय छोडेर हिमाली पाटनमा पुगेपनी पहिलेको तुलनामा यस बर्ष भने कम सङ्ख्यामा आएका छन् । पहिलेको तुलनामा यार्सा पनि कम पाइने गरेको छ । यार्सा पनि घटेको छ । कहिले काँहि त दिनभर खोजेर १ मात्रै पाइन्छ । धेरै जसो मानिसहरू अहिले ढिलो हिमपात भएकाले आएर पनि यार्सा टिप्न नपाई घर फर्कि सकेका छन् । ”

पहिलेका बर्सहरूमा यार्सा टिप्नकै लागि मानिसहरू घर गोठ बन्द गरेर वैशाख महिना देखिनै पाटन पुगेका हुन्थे । साइपाल गाउँपालिकामा पर्ने औलागाड, राइढुंगी, माझा, श्यामवन, चाल्ना वन, लगायतका दर्जनौँ स्थानमा हजारौँ मानिस पुगेका हुन्थे । पालहरू हाल्ने ठाउँ पुग्दैन थ्यो । पालले पाटन भरिन्थ्यो । पोहोर साल कोरोनाका कारण यार्सा सङ्कलनमा गाउँपालिकाले रोक लगायो यो बर्ष पनि अलमलमा परेर नआएको यार्सा सङ्कलक पानकला गुरुङले बताउनुभयो ।

मौसम परिवर्तन र कोरोनाका कारणले यो बर्ष जेठ ५ गते बुधवार सम्मको तथ्याङ्क हेर्दा सुर्मा गाउँपालिकाका १ सय ३४ जना, तलकोट गाउँपालिकाका ६० जना, मष्टा गाउँपालिकाका ८० जना, साईपाल गाउँपालिकाका १ सय ८७ जना र जयपृथ्वी नगरपालिकाका ३ जना गरी जम्मा ४ सय ६४ जना सङ्कलकहरू साइपाल गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा प्रवेश गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो । धामीले २०७७ साल बाहेक पहिलेका सबै बर्सहरूमा ४,५ हजार को हाराहारीमा सङ्कलकहरू यार्सा टिप्न आउने गरेको भए पनि यस बर्ष कम सङ्ख्यामा यार्सा सङ्कलकहरू आएको समेत बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button