तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा मेसुमा डा. बिरेन्द्र प्रधान नियुक्त 

बीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीरगंजको नारायणी अस्पतालको मेडिकल सुपरीटेण्डेन्टमा डा.वीरेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जय ठाकुरलाई काठमाडौँस्थित वीर अस्पतालमा सरुवा गरी प्रधानलाई नारायणी अस्पतालको मेडिकल सुपरीटेण्डेन्टको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको कोभिड सङ्क्रमणले पर्सा जिल्लाको अवस्था भयावह भएको बेला बीरगंजमा तराईका जनताको स्वास्थ्यको एक मात्र भरोसाको केन्द्र रहेको नारायणी अस्पतालमा प्रभावकारी ढङ्गले काम गर्न नसकेपछि ठाकुरलाई विर अस्पताल सरुवा गरिएको बुझिएको छ ।
अस्पताल प्रशासनको लापरबाहीको कारण नारायणी अस्पतालमा भर्ना भएका कोभिड सङ्क्रमितलाई उपचार गर्न चिकित्सक नजाने, असिक्जन र रेम्डीसिभिर जस्ता औषधी हराउने तथा अभाव हुने, कोभिड वार्ड फोहर भएको सरसफाइमा ध्यान नदिइएको, संक्रमित रहेको आइसियु वार्डमा समेत सङ्क्रमितका कुरुवाले नै बिरामीको अक्सिजन फेर्ने तथा औषधी दिने जस्ता काम भएको विषय बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले ठाकुरलाई गत आइतबार स्पष्टीकरण सोधेको थियो ।
एक वर्षअघि तत्कालीन नारायणीका मेडिकल सुपरीटेण्डेन्ट डा. मदन उपाध्यायको सरुवा भएपछि मन्त्रालयले ठाकुरलाई नारायणी अस्पतालमा पठाएको थियो ।
नव नियुक्त मेडिकल सुपरीटेण्डेन्ट डा.वीरेन्द्र प्रधानले स्वास्थ्य मन्त्रालयले आफूलाई दिएको जिम्मेवारी इमानदारीताका साथ पुरा गर्ने बताउनुहुँदै आज दिउँसो हाजिर भएसँगै अस्पतालको प्रशासनिक तथा भौतिक सुधारमा आफु जुटिसकेको बताउनुभयो ।
उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै मध्य तराईका जनताको स्वास्थ्यको एक मात्र भरोसाको केन्द्र बनेको नारायणी अस्पताललाई सुधार गर्न तथा कोभिड सङ्क्रमण नियन्त्रण र उपचारका लागि आफु सक्रिय रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button