तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालमार्फत रकम सङ्कलन नगर्न / नगराउन आग्रह

सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले सामाजिक सञ्जालमार्फत रकम सङ्कलन भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना भाइरस संक्रमण फैलिरहेको समयमा सहयोगका नाममा सामाजिक सञ्जालमार्फत रकम असुली भइरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
प्रशासनले अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोसिलो खाने कुरा वितरण गर्ने, वा एम्बुलेन्स उपलब्ध गराउने लगायतका विभिन्न नाममा जिल्लामा सामाजिक सञ्जालमार्फत रकम सङ्कलन नगर्न आग्रह गरेको छ ।
व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा नदिन र नलिन सर्वसाधारण प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । अन्यथा चन्दा ऐन २०३० को दफा १३ बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुनै व्यक्तिले स्वैच्छिक रुपमा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैङ्क सिंहदरबारमा रहेको कोषको खाता न १९६०००००११०१ मा जम्मा गर्न सकिने र जम्मा गरेपछि जम्मा गरेको भौचरको छाँयाप्रति कार्यालयलाई उपलब्ध गराउनु समेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button