तपाईँ सुन्दै हुनुहुन्छः

मध्य पहाडी लोकमार्गः दैलेख खण्डमा कामको गति तीव्र

काठमाडौँ । कर्णाली प्रदेशको अवस्था केही वर्ष अघिसम्म यस्तो थियो, आधा नागरिक गरिब । रोजगारीका लागि भारतसहित तेस्रो मुलुक जानुपर्ने बाध्यता । विकासको गति सुस्त । नागरिक निरास । तर, पुष्पलाल (मध्य पहाडी) राजमार्ग निर्माणसँगै विकासको ढोका खुल्न थालेको छ । स्थानीयमा तीव्र विकासको आशा पलाएको छ । उनीहरूको आर्थिक अवस्थामा सुधार आउन थालेको छ । राजमार्गको अधिकांश सडक खण्डमा स्थानीय कामदार प्रयोगले रोजगारी पनि सृजना भएको छ।
राजमार्ग अन्तर्गत  दैलेख खण्डमा लुम्बिनी प्रदेशको रुकुम पूर्व,कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी जम्मा ४ सय ४० किलोमिटर कार्यक्षेत्र पर्छ ।
दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ,जुन सरकारको मध्य पहाडी राजमार्गमा बन्ने १० वटा नयाँ सहर मध्ये एक हो । कर्णाली राजमार्ग र मध्य पहाडी राजमार्ग दुवैले छुने भएपछि रुकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आएका छन् । सरकारी संयन्त्र पनि पुगेका छन् ।
यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता टरेको छ । यस्तै, रुकुमको चौरजहारीमा बजार फस्टाएको छ जुन पुष्पलाल(मध्य पहाडी) राजमार्गमा बन्ने अर्को एक नयाँ सहर हो।
बस्ती नै नभएको ठाउँमा राजमार्ग खुलेपछि बजार विकास भइरहेको छ । राजमार्गका  कारण स्थानीय कृषिजन्य बस्तुले हाट बजारमार्फत बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ । बाटोको सहज पहुँचले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनसँगै ओझेलमा परेका स्थानीय प्राकृतिक सम्पदा, ताल तलैया एवम् उत्पादनले बजारीकरण लिएको छ ।
स्थानीय स्तरमा रोजगारी सृजना भएको छ। मध्य पहाडी राजमार्ग बन्नुभन्दा पहिले अत्यन्तै दुर्गम र पछाडि परेको रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट हाल दैनिक ४ वटा सार्वजनिक बस बागलुङ हुँदै काठमाडौँसम्म जाने व्यवस्थाले जनताको पहुँच सिधै राजधानीसँग जोड्नुका साथै जनजीवन सरल, आरामदायी बनाएको छ ।
योजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वको पातिहाल्र्नेबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ । यो खण्डको स्तरोन्नति अन्तर्गत सडक ग्राभेल, कालोपत्रे, टेवा पर्खाल निर्माण गर्ने र पुल निर्माणलगायतका काम धमाधम भइरहेका छन् ।
रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये रुकुम पूर्वमा ३१.४९ कि.मि. र रुकुम पश्चिममा ३७.०५८ कि।मि। गरी जम्मा ६८.५४ कि।मि। कालोपत्रे भइसकेको योजना प्रमुख अर्जुन कुमार बमले जानकारी दिनुभयो । रुकुम पश्चिमको चौरजहारीदेखि हासिबाङ्गसम्म, खोपिचौरदेखि रुकुमकोट र रिकमदेखि रुकुमकोट सडक खण्डमा हाल कालोपत्रे गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ। हालसम्मको रुकुम पूर्व र रुकुम पश्चिम जिल्लामा भइरहेका निर्माण कार्यको भौतिक प्रगति क्रमशः ८२ र ६२ प्रतिशत रहेको छ।
जाजरकोट जिल्लामा कुदुदेखि सुवेडासम्म पर्ने ८३ किमी सडक खण्डमा ७ वटा ठेक्कापट्टा व्यवस्थापन भई हाल सडक चौडाइ गर्ने, टेवा पर्खाल निर्माण गर्ने, ग्राभेल सडक निर्माण गर्ने तथा कालोपत्रे गर्ने कार्य धमाधम चलिरहेको छ। कुदुदेखि जगातिपुर हुँदै कार्कीगाँउ जोड्ने १५ कि।मि सडक खण्डमा निर्माण व्यवसायी श्री शर्मा/सिंह एण्ड ब्रदर्श जे.भी. काठमाडौँबाट सडक कालोपत्रे गर्ने कार्य भइरहेकोमा हाल ७.० कि.मि. कालोपत्रे गर्ने कार्य सकिएको कार्यालयले जनाएको छ। समग्र जाजरकोट जिल्लामा हालसम्मको प्रगति ४५ प्रतिशत रहेको छ।
No description available.
जाजरकोट जिल्लामा पर्ने मन्ताभिर कटान गर्ने र भेरी नदिमा पुल निर्माण गर्ने कार्यलाई कार्यालयले प्रमुख प्राथमिकतामा राखी सम्बन्धित निर्माण व्यवसायीलाई जिम्मेवार बनाई अगाडी बढेको जनाएको छ। साथै थलगाडमा बनिरहेको आरसिसी ४० मिटर पुल आगामी वर्षभित्र बनिसक्ने कार्यालयले जनाएको छ।
दैलेख जिल्लामा पूर्वको सिमाना सुवेडादेखि पश्चिम राकमसम्म पर्ने कुल १ सय २५ कि।मि सडक लम्बाई मध्ये दैलेख पूर्वको लोहारेदेखि हुलाक टाकुरासम्म ९.९ कि.मि. र हुलाक टाकुरादेखि मनघरसम्म ११.९३ कि.मि. सडक गरी जम्मा २१.८३ कि।मी सम्मको कालोपत्रे गर्ने कार्य सम्पन्न भई सवारी आवागमन समेत सुचारु भइसकेको छ भने दैलेख पश्चिममा रावतकोटदेखि पादुकासम्म १३.३ कि.मि. निर्माण व्यवसायी रमण/के.एस, जे.भी धनगढी कैलालीबाट र पादुकादेखि रामघाटसम्म १५.८६८ कि।मि निर्माण व्यवसायी पप्पु/ हाई हिमालय हाईड्रो जे.भीबाट सडक कालोपत्रे गर्ने कार्य अगाडी बढिरहेको छ। दुवै सडकहरूको हालसम्मको भौतिक प्रगति क्रमशः ८५ र ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ।
हाल कालोपत्रे गर्न वेस गर्ने कार्य केही स्थानमा सम्पन्न भएको र केही स्थानमा भइरहेको कार्यालयले जनाएको छ। साथै बाँकी सडक खण्डमा समेत ठेक्कापट्टा व्यवस्थापन भई सडक चौडाइ गर्ने कार्य, टेवा पर्खाल निर्माण गर्ने कार्य, ग्राभेल सडकमा स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ। यस क्षेत्रमा जम्मा १३ वटा ठेक्कापट्टा व्यवस्थापन भई सडक तथा पुल निर्माण कार्य भइरहेको छ र समग्र हालसम्मको प्रगति ५८ प्रतिशत रहेको छ।
अछाममा १ सय ७ किमीमध्ये १ सय ६ किमी कालोपत्रे भई सञ्चालनमा आएको छ । बाँकी १ किमी कालोपत्रे गर्ने कार्य भइरहेको  छ र हालको भौतिक प्रगति ९८ प्रतिशत रहेको छ।
दैलेख योजना अन्तरगत पुल निर्माण र सडक कालो पत्रेलगायतका कार्यका लागि २९ वटा ठेक्कामार्फत विभिन्न पाँच जिल्लामा निर्माण काम भइरहेको छन् जसमध्ये २५ वटा सडकतर्फ र ४ वटा पुल निर्माणतर्फ रहेका छन् । ती ठेक्काअन्तर्गत औसतमा ६९ प्रतिशत काम सम्पन्न भइसकेको योजना प्रमुख बमको भनाइ छ ।
हाल सञ्चालित विभिन्न सडक तथा पुल योजनाहरूको रुकुम पूर्वको पातिहाल्नेबाट अछामसम्मको खण्डमा हालसम्म ६ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ ।
राष्ट्रिय गौरवको मध्य पहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ ।
लामो समय जग्गा विवादका कारण दैलेख खण्डको सडक मार्ग खोल्नै सकस भएको थियो । हाल सम्बन्धित सरोकारवालाहरू, स्थानीय तह, स्थानीय प्रशासन, नागरिक समाजसँगको निरन्तर छलफल, संवाद र योजनाले भावी  दिनमा पार्ने असर आदिमाथी छलफल गर्दै जग्गा विवादको समस्या अधिकांश स्थानमा समाधान भई धमाधम निर्माण कार्यले प्रगति लिएको छ।
निर्माण कार्यको मुख्य सिजनमा गत वर्ष र यस बर्ष फैलिएको विश्वव्यापी कोरोना भाइरसका कारणले राष्ट्रिय गौरवको यस योजना पनि अछुरो रहन सकेन तथापि स्थानीय प्रशासनको सहजिकरणमा निर्माण कार्य सुचारु भइरहेकोमा अपेक्षाकृत गति भने लिन सकेको छैन। विवाद समाधान भएसँगै र कोरोना भाइरसका बाबजुद पनि राजमार्ग स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ ।
अहिले दैलेख खण्डको सबै खण्डमा सडक चौडाइ गर्ने, टेवा पर्खाल निर्माण गर्ने कार्यले तीव्रता पाएको मध्य पहाडी राजमार्ग दैलेख खण्डका योजना प्रमुख बमले जानकारी दिनुभयो ।
साथै सानातिना विवाद एव समस्याहरू निर्माण कार्यकै दौरानमा स्थानीयसँग समन्वय गर्दै अगाडी बढ्ने योजना कार्यालयले जनाएको छ।
यसै गरी योजना कार्यालय दैलेखले सडक स्तरोन्नति गर्ने क्रममा सडक खण्डमा पर्ने घर, टहरा एव गोठहरू हटाउँदा हालसम्म देहाय बमोजिम क्षतिपूर्ति रकम वितरण गरेको जनाएको छ।
क्र.स. जिल्ला घर, टहरा, गोठको हालसम्म वितरण भएको क्षतिपूर्ति रकम  कैफियत :
सीमित प्राविधिक जनशक्तिका कारण लामो खण्डमा निर्माण कार्यको  नियमित नियमन गर्न चुनौतीपूर्ण रहेको, भौगोलिक जटिलता(निरन्तर पहिरो जाने, केही ठाउँमा हिउँ पर्ने) एव सडक क्षेत्रभित्र पर्ने घर, टहरा एव गोठहरूको क्षतिपूर्ति समयमै भुक्तानी हुन नसक्दा निर्माण कार्यको तीव्रतामा केही बाधा पुग्न गएको कार्यालयले जनाएको छ।
साथै सम्पन्न भएका सडक खण्डहरु नियमित मर्मत सम्भार, रेखदेख एव संरक्षण गर्दा मात्र सवारी आवागमन नियमित,  विश्वसनीय र राज्यको करोडौँ लगानी जगेर्ना हुने हुँदा सम्बन्धित डिभिजनलाई हस्तान्तरण गर्ने कार्य पनि सँगसँगै चालिनुपर्ने कुरा योजना प्रमुखले बताउनुभयो।
आ.ब.०७९/०८० भित्र निर्माण सम्पन्न गर्ने भन्दै सरकारले मध्य पहाडी राजमार्ग आयोजनालाई पाँच खण्ड बनाएर निर्माण अघि बढाएको छ ।
पूर्वी खण्ड (७२१ किमी) र पश्चिम खण्ड (११५८ किमी) गरी २ वटा कार्यालयबाट यस अघि निर्माण कार्य भइरहेकोमा आयोजना समयमै सम्पन्न गर्न, निर्माण कार्यको रेखदेख, कार्यान्वयन र अनुगमन बस्तुनिठ, व्यवहारिक र प्रभावकारी रुपमा गर्न  हाल मध्य पहाडी राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा कार्यालयहरू बनाएर कार्यान्वयनमा ल्याइएको छ । सबै कार्यालय मातहत हेर्ने सडक, पुल छुटाएर अहिले निर्माण कार्य सबै खण्डमा चालु भइरहेका छन् । आयोजनाका कार्यालयहरू पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा छन् ।
राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्य पहाडी हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । त्यही बमोजिम सरकारबाट मध्य पहाडी (पुष्पलाल) राजमार्ग नामकरण गरी २०६४/०६५ बाट आयोजना सुरु गरिएको हो । फागुन २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट राजमार्गको रेखाङ्कन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढेको हो ।
मध्य पहाडका २६ जिल्लाहरूका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्य पहाडमा बसोबास गर्ने करिब १ करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । आयोजनाको सुरु विन्दु पाँचथर जिल्लाको चियोभन्ज्याङ हो भने अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ । जसको कुल लम्बाइ पछिल्लो संशोधन अनुसार १ हजार ८ सय ७९ किमी रहेको छ । सरकारले २०६९/०७० सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकता साथ अघि बढाएको छ । २०६४/०६५ बाट निर्माण सुरु गरिएको मध्य पहाडी राजमार्ग आ.व. ०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विकासको मागलाई न्यायोचित वितरण गर्दै स्थानीय भूगोल, हावापानी एव भू बनौट सँग सुहाउने उत्पादन प्रवर्द्धन गर्ने, विकट बस्तीहरूलाई यातायातका माध्यमबाट सहज बनाई जनतालाई स्थानीय स्तरमा रोजगारी सृजना गरी आर्थिक विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने,गरिबी न्यूनीकरण गर्ने र असन्तुलित बसासराईलाई घटाउने पनि पुष्पलाल(मध्य पहाडी) राजमार्गको अर्को मुख्य ध्येय हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button