तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सम्पन्न, ३३७ जना सहभागी

मकवानपुर । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माविमा भएको मतदान बिहान ९ बजेबाट सुरु भएको मतदान दिउसो ३ बजे सम्पन्न भएको हो ।
निर्वाचनमा कुल ३ सय ४७ मतदाता मध्ये ३ सय ३७ जनाले मात्र मतदान गर्नुभएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार ४८ मतभार रहेको प्रदेशसभातर्फ १०९ मध्ये एक सय ५ जना सांसदले मतदान गर्नुभएको छ ।
मतदानमा विवेकशील साझाका ३ जना सांसद र माओवादी केन्द्रका एक जना सांसद गरी ४ जना अनुपस्थित हुनुभएको उहाँले बताउनुभयो । यस्तै १८ मतभार रहेका ११९ स्थानीय तहको २३८ मतदाता मध्ये २ सय ३२ जना प्रमुख/उपप्रमुख मतदानमा सहभागी हुनुभएको उहाँले बताउनुभयो । स्थानीय तहका ६ जना मतदाता मतदानमा सहभागी नहुनुभएको उहाँले बताउनुभयो ।
मतदान प्रक्रियामा प्रदेश सभा सदस्यहरु विवेकशील साझाका रमेश पौडेल, बिराज भक्त श्रेष्ठ र शोभा शाक्य तथा माओवादी केन्द्रका हिमाली गोले गरी ४ जना अनुपस्थित हुनुभएको छ । यस्तै स्थानीय तहका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, र मेलुङ गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी गरी ६ जना अनुपस्थित रहनुभएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३ जनाको उम्मेदवारी रहेको छ । एमालेका तर्फबाट रामबहादुर थापा (बादल), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको छ । भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ पनि उपनिर्वाचनमा उम्मेदवार हुनुहुन्छ ।
हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा भएको मतदानको मतगणना सोही विद्यालयकै हलमा अहिले साढे ४ बजेबाट सुरु गरिने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनको परिणाम आजै साँझसम्ममा आइपुग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button