तपाईँ सुन्दै हुनुहुन्छः

लिसंखुपाखरको कोभिडका बिरामीलाई लक्षित गर्दै उपचार तथा राहतका कार्यक्रमहरू 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले कोभिडका बिरामीलाई लक्षित गर्दै उपचार तथा राहतका कार्यक्रमहरू ल्याएको छ । गाउँपालिकाले उपाध्यक्ष हेमगंगा मोक्तानको संयोजकत्वमा बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित बिरामीलाई स्वास्थ्यमा समस्या देखिएर डाडापाखर वा सिन्धु सदावहार अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ ।
लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालका अनुसार बैठकले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई पोषण खर्च बापत पति संक्रमित ३ हजार उपलब्ध गराइनेछ । यस्तै सिन्धु सदावाहर अस्पताल वा डांडापाखर अस्थाई कोभिड अस्पतालमा अक्सिजन सहितको सामान्य औषधी उपचार खर्च गाउँपालिकाले बेहोर्ने भएको छ । उक्त अस्पतालमा उपचार हुन नसकेर अन्यत्र थप सुविधा सहितको अस्पताल लैजान डाक्टरले सिफारिस गरेमा थप औषधी उपचार बापत १० हजार लिसखुपाखर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । तर डाक्टरको रिफर विना नै बिरामी आफ्नै अनुरोधमा अन्यत्र जान चाहेमा सो सुविधा उपलब्ध नहुने प्रमुख प्रशासकीय अधिकृत दुलालले बताउनुभयो ।
कोभिड संक्रमित बिरामीको उपचारको क्रममा मृत्यु हुन गएमा काजकिरीयामा सहयोग स्वरूप १५ हजार उपलब्ध गराउने समेत कोरोना सङ्कट व्यवस्थापन समिति लिसंखुपाखरले निर्णय गरेको छ । गाउँपालिकाले संक्रमण समुदायमा देखिएको भन्दै सर्वसाधारणमा थप सचेत रहन र स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न अनुरोध गरेको छ । पालिकाले गाउँपालिका भित्रको विभिन्न स्थानको होटल ,पसल , व्यवसाय जस्ता भिडभाड हुने क्षेत्रहरूमा पिसिआर नमुना सङ्कलन गरी सङ्क्रमणको अवस्था पहिचान गर्ने काम गरिरहेको पालिका अध्यक्ष कमल नेपालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button