तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेनका तरकारी, मासु तथा औषधि पसलमा अनुगमन, मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो

अछाम । अछाम सदरमुकाम मङ्गलसेनमा रहेको कृषि उपज सङ्कलन तथा  वितरण केन्द्र (कृषि हाटबजार) र बजारका औषधि पसलहरूको अनुगमन गरिएको छ ।
कोरोना महामारीको समयमा कृषि उपज तथा तरकारीको अस्वाभाविक मूल्यवृद्धि भइरहेको भन्ने गुनासो आउन थालेपछि मङ्गलसेनको कृषि उपज सङ्कलन तथा पशु बिक्री एवं सङ्कलन केन्द्र (तरकारी तथा मासु पसल) र औषधी पसलहरूको अनुगमन गरिएको हो ।
मङ्गलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद उपाध्यायको संयोजकत्वमा सरोकारवालाहरूको एक टोलीले हाटबजारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रशासनबाट तोकिएको मूल्य सुची र साइनबोर्ड पसलहरूमा राखे(नराखेको, निर्धारित मूल्य सूची कायम भए।नभएको, व्यवसाय दर्ता तथा नवीकरण भएको(नभएको, नापतौलको प्रमाण, मासु पसलहरूको सरसफाइको अवस्थाबारे जाँचबुझ गरिएको छ । टोलीले मापदण्ड अनुसार पसलहरू सञ्चालन नभएको पाएको छ ।
अनुगमन टोलीले मूल्य सुची र साइनबोर्ड नराखेका पसललाई ३ दिनभित्र राखी सक्न निर्देशन दिनुका साथै ७ दिनभित्र व्यवसाय दर्ता तथा नवीकरण गरी सक्न र स्थायी लेखा नम्बर लिन सुझाव दिइएको मङ्गलसेन नगरपालिकाका स्टोर किपर नरेश बहादुर कठायतले जानकारी दिनुभयो ।
यस्तै टोलीले मङ्गलसेन बजार क्षेत्रका औषधि पसलहरूको पनि अनुगमन गरेको छ । दोस्रो लहरको कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेकाले औषधी पसलहरूमा बिरामीको चाप पनि बढ्ने भएपछि औषधी विक्री वितरणको अवस्था, स्वास्थ्य मापदण्डको पालना, स्वास्थ्य सुरक्षा, सरसफाइको अवस्था बुझ्न तथा म्याद गुज्रिएका औषधीहरूको विक्री वितरण हुन नदिन औषधी पसलहरूको अनुगमन गरिएको हो । औषधि संवेदनशील कुरा भएकोले यसमा कुनै प्रकारको लापरबाही नगर्न टोलीले निर्देशन दिएको छ ।
अनुगमन टोलीमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपाध्यायसहित निमित्त प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमील्सेना, जिल्ला प्रहरी कार्यालयका असई दान बहादुर धामी, उपभोक्ता हित संरक्षक संस्थाका प्रमुख खेमराज ढुङ्गाना, उद्योग वाणिज्य संघका उपाध्यक्ष यज्ञराज ढुङ्गाना, नगरपालिकाको स्वास्थ्य शाखाका चन्द्र प्रसाद ढुङ्गाना, सूचना अधिकारी विष्णु प्रसाद जैशी, स्टोर प्रमुख नरेश बहादुर कठायत, कृषि शाखाका तर्क बहादुर रावल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
अछाममा कोरोना संक्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाको समयमा दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भइरहेको उपभोक्ताले गुनासो गरिरहेका छन् । सङ्कटको समयमा पनि व्यापारीहरूले आफूखुसी मूल्य बढाएर आफूहरूलाई मारमा पारेको भन्दै यसको नियन्त्रणका लागि सम्बन्धित निकायले चासो देखाउनुपर्ने उपभोक्ताहरूको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button