तपाईँ सुन्दै हुनुहुन्छः

महालक्ष्मीमा निःशुल्क रोग प्रतिरोधात्मक औषधि खुवाइँदै

धनकुटा । गाउँ–गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउन थालेको छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि हरेक नागरिकलाई कम्तीमा एक महिना सेवन गर्न पुग्ने गरी होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्न थालिएको हो ।
नगर बासीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेर कोरोनासहित अन्य रोग लाग्नबाट बचाउन सबै नगरबासीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउन लागिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताउनुभयो ।
‘अहिले गाउँ–गाउँमा कोरोना फैलिएको छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना लागिरहेको छ । कोरोनाको औषधि पनि नहुँदा यसको नियन्त्रणमा निकै चुनौती देखिएकाले नगरबासीलाई बचाउन वैकल्पिक उपाय खोजेका हौँ,’ मेयर नेपालले भन्नुभयो, ‘हामीले महालक्ष्मी नगरबासी सबै नागरिकलाई यो औषधि खुवाउँदै छौ । इम्युनिटी पावर बढ्यो भने कोरोनासहित अन्य रोगको पनि संक्रमण कम होला भन्ने अनुमान गरेका छौँ ।’
डाक्टरहरूसँगको परामर्श अनुसार महालक्ष्मी नगरपालिकाले यो अभियान सुरु गरेको हो ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले यो औषधि सेवनका लागि स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको बताइएको छ ।
अहिले धनकुटा सदरमुकामस्थित जनभावना होमियोप्याथिक हस्पिटलसँगको सहकार्यमा औषधि वितरण थालिएको छ । जनभावना हस्पिटलका सञ्चालक डा.खगेन्द्र कटुवालसहित स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नगरका कर्मचारीहरू औषधि वितरणमा खटिएका छन् ।
सबै नगरबासीलाई औषधि सेवन गराउनका लागि नगरपालिकामार्फत वडा कार्यालय, टोलका अध्यक्ष र महिला स्वास्थ्य स्वयंसेवीकाहरुमार्फत औषधि वितरण गर्ने तयारी गरिएको छ ।
पहिलो चरणमा वडा नं. १, २, ६, ८ र ९ वडा कार्यालयमा औषधि पुर्‍याइसकिएको छ । बाँकी सबै वडामा पनि केही दिनभित्रै औषधि पुर्‍याएर सबै नागरिकलाई औषधि वितरण गरिने बताइएको छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधि भएकाले सबै उमेर समूहका मानिसले यो औषधि सेवन गर्न मिल्ने जनभावना हस्पिटलका सञ्चालक डा.कटुवाल बताउनुभयो । ‘हरेक व्यक्तिमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो कमजोर भयो भने विभिन्न रोग लाग्छन् ।
रोग प्रतिरोधात्मक क्षमता मजबुत भएका व्यक्तिले कोरोना जस्ता धेरै रोगका भाइरसलाई पराजित गर्न सक्छ ।’ डा.कटुवाल भन्नुहुन्छ, ‘हामीले अहिले एक महिनासम्म सेवन गर्न पुग्ने गरी हरेक व्यक्तिलाई १८÷१८ गोली ‘इम्युन बुष्टर’ औषधि दिदैंछौ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । जसका कारण कोरोना मात्र नभई जुनसुकै रोगको पनि संक्रमण कम गर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button