तपाईँ सुन्दै हुनुहुन्छः

मेरो विजय संविधान र सङ्घीयता पक्षधरको विजय हो : देवकोटा 

मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा निर्वाचित हुनुभएका डा. खिमलाल देवकोटाले संविधान र सङ्घीयता पक्षधरको विजय भएको बताउनु भएको छ ।
आज भएको निर्वाचनमा विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मेरो विजय सिङ्गो संविधानको विजय भएको बताउनुभयो ।
देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएको भए पनि विपक्षी दलको समेत सहयोगमा आफु विजयी भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो । “मेरो विजय सिङ्गो संविधानको विजय हो, संविधान र सङ्घीयता पक्षधरको विजय हो, विपक्षी दलहरूको पनि सहयोगमा मैले जिते, स्वतन्त्र उम्मेदवारी दिएको थिए ।” उहाँले संविधानको रक्षाका लागि उम्मेदवारी दिएको र विजयी भएको बताउँदै संविधानको पक्षमा आफ्नो भूमिका हुने बताउनुभयो ।
आज सम्पन्न उपनिर्वाचनमा देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता तथा गृहमन्त्री बादललाई एक हजार ७४ मतभारले पराजित गर्नुभएको हो । निर्वाचनमा देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्नुभयो, भने थापाले ४ हजार १४ मतभार प्राप्त गर्नुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ । उपनिर्वाचनमा प्रदेश तर्फ कुल १०५ मतदान भएको मध्ये देवकोटाले ५८ अर्थात् २७८४, थापाले ४५ अर्थात् २१६० र तामाङले २ अर्थात् ९६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै स्थानीय तह तर्फ देवकोटाले १२८ अर्थात् २३०४, थापाले १०३ अर्थात् १८५४ र तामाङले २ अर्थात् ३६ मत प्राप्त गर्नुभएको हो । कुल ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ जनाले मात्र निर्वाचनमा मतदान गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो । ४८ मतभार रहेको प्रदेशसभातर्फ १०९ मध्ये एक सय ५ जना र १८ मतभार रहेका ११९ स्थानीय तहको २३८ मतदाता मध्ये २ सय ३३ जनाले मतदानमा भाग लिनुभएको थियो ।
उपनिर्वाचनमा एमालेका तर्फबाट सूर्य चिन्हमा रामबहादुर थापा (बादल), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कलम चिन्हमा स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको थियो । भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तर्फबाट मादल चिन्हमा कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button