तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा साढे ८ हजार बढीले कोरोना जिते, अछाममा ९५ जनामा संक्रमित थपिए

कैलाली र अछाम । कैलाली जिल्लामा साढे ८ हजार बढीले कोरोना जितेका छन् । कैलालीमा कोरोना पुष्टि भएका १४ हजार २ सय ४४ जना मध्ये ८ हजार, ७ सय ३० जनाले कोरोना जितेका सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो तथ्याङ्क हेर्दा कैलालीमा कोरोना निको हुने दर ६१.२८ प्रतिशत रहेको देखिन्छ भने ३७.८० प्रतिशत अझै सक्रिय संक्रमित रहेका छन् ।
जेठ ५ गते साँझसम्मको तथ्याङ्क अनुसार कैलालीमा अझै ५ हजार ३ सय ८५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भने १ सय ७८ जनाको मृत्यु भएको छ । कैलालीमा कोरोनाबाट मृत्यु हुने दर १.२४ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
यो तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशको दाँजोमा कैलाली जिल्लामा कोरोना निको हुने दर कम रहको देखिन्छ भने मृत्यु हुने दर बढिरहेको देखिन्छ । यो समयमा सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने दर ६१.८९ प्रतिशत रहेको छ भने मृत्यु हुने दर १.२१ रहेको देखिन्छ ।
अछाममा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना निको
अछाममा आज थप ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परीक्षण र एन्टिजेन परीक्षण गरी जम्मा ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
कमलबजार पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जना तथा ५ जनामा एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको तुर्माखाँद, कमलबजार तथा साँफेबगर लगायतका पालिकाबाट सङ्कलित स्वाबको रियल टाइम पीसीआर परीक्षण गरिएको ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज अछाममा सक्रिय संक्रमित मध्ये ६२ जना निको भएका छन् । जिल्लाका अस्पताल, संस्थागत तथा होम आइसोलेसनमा बसेका ६२ जना निको भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै दोस्रो लहरमा ४ सय ५५ जना कोरोना जितेर निको  भई घर फर्किसकेका छन् ।
हालसम्म अछाममा ३ हजार  ३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा २२ सय ५० पुरुष तथा ७ सय ८४ जना महिला रहेका छन् ।
१६ सय १७ पुरुष र ५ सय ५ महिला गरी पहिलो र दोस्रो लहरमा गरी हालसम्म जम्मा २१ सय २२ जना निको भई घर फर्किसकेका सूचना अधिकारी जोशीले बताउनु भयो ।
हाल जिल्लामा ६ सय १५ पुरुष तथा २ सय ७९ जना महिला गरी ८ सय ९४ जना कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।
हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १३ जना गरी १८ जनाको कोरोनाका कारण ज्यान समेत गइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button