तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घ नवीकरण नगरेका कारण टोकियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत सहभागी हुने आशा समाप्त

काठमाडौँ । ओलम्पिकको इतिहासमा पहिलो पटक समावेश भएको कराँतेको टोकियो ओलम्पिकमा सहभागिताका लागि नेपालको वाइल्ड कार्डको आशा पनि लगभग समाप्त भएको छ ।
पछिल्लो करिब ६ वर्षदेखि अन्तर्राष्ट्रिय कराँते महासङ्घमा नेपालको सङ्घ नवीकरण भएको छैन । नेपालमा २०७५ सालमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको रोहबरमा दुवै कराँते सङ्घ मिलेर एक भएका थिए । तर त्यो प्रक्रिया कागजमा उतारेर अन्तर्राष्ट्रिय महासङ्घलाई भने जानकारी भएको रहेनछ ।
किनकि अहिले पनि अन्तर्राष्ट्रिय कराँते महासङ्घको वेबसाइटमा पुरेन्द्रविक्रम लाखे नै अध्यक्ष भनेर उल्लेख छ । सन् २०१४ बाट नै डब्लुकेएफका आधिकारिक प्रतियोगितामा नेपालले सहभागिता गर्नबाट वञ्चित भइसकेको थियो ।
नेपालमा दुई सङ्घ अस्तित्वमा हुँदा जुन समस्या देखिएका थिए, अहिले ओलम्पिकको मुखैमा झन् ठुलो समस्या देखा परेको छ । टोकियो ओलम्पिकको सपना देखेका नेपाली खेलाडी अहिले निराश हुने अवस्था आएको छ ।
टोकियो ओलम्पिकको तयारीमा रहेका प्रशिक्षक दिपक श्रेष्ठले विश्व कराँते महासङ्घमा नेपाल कराँते महासङ्घ नवीकरण नभएको खबर थाहा पाएपछि निकै निराश भएको बताउँदै अब वाइल्ड कार्डको आशा नै समाप्त भएको बताउनुभयो ।
ओलम्पिकका लागि वाइल्ड कार्ड विपन्न देशलाई दिने हो, तर फेडेरेसनसँग समन्वय नभएमा वाइल्ड कार्ड  पाउने सम्भावना समाप्त हुने देखिएको छ ।
नेपाली कराँते टिमले पेरिसमा जुन १० र ११ मा हुने छनौटमा सहभागिता गर्न नपाउने भएको छ  । जसका कारण ओलम्पिकका लागि अन्तिम आशा वाइल्ड कार्ड बनेको थियो, त्यो पनि सङ्घ नवीकरण नहुँदा समाप्त जस्तै भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button