तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा जानकी नवमी विशेष पूजापाठ गर्दै आज मनाइँदै 

जनकपुरधाम । जनकपुरधाम सहित विभिन्न जिल्लाहरूमा रहेको राम जानकीको मठ मन्दिर श्रद्धा भक्तिपूर्वक जानकी नवमी पर्व आज मनाईदैछ । जनकपुरधामको जानकी मन्दिरमा विशेष पूजापाठको आयोजना गरिएको छ ।
वैशाख शुक्लपक्ष नवमी तिथिका दिन तत्कालीन मिथिलाका राजा जनकको सुपुत्रीको रुपमा आजैको दिन प्रकट (जन्म) भएको मान्यता अनुसार जनकपुरधाममा विशेष धूमधामका साथ जानकी नवमी पर्व मनाइने गरिन्छ ।
यस वर्ष कोरोना महामारीको प्रभाव रहेकाले जानकी मन्दिरमा कुनै भिडभाड नगरेर मनाइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । आजको मध्य दिनमा धर्तीबाट माता जानकी प्रकट भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख रहेको छ ।
आज विशेष पूजापाठका साथै बधाइगान सहितको आयोजना जानकी मन्दिरले सामान्य रुपमा पर्व मनाइरहेको छ । कोरोनाका कारणले मन्दिरको मूल ढोका बन्द रहेका छन् । सर्वसाधारणलाई भिडभाड गर्नका लागि प्रवेश निषेध गर्ने काम स्थानीय प्रशासनबाट भएकाले मूल ढोका बन्द छ ।
आदर्श नारीको रुपमा रहेको माता जानकी मानवका लागि प्रेरणाको श्रोतको रुपमा रहनु भएको छ । यस महान् पर्वलाई सबैलाई घर घरमा आज साँझ दीपावली तथा विशेष पूजापाठको आयोजना गरेर जानकी नवमी पर्व मनाउनका लागि उत्तराधिकारी महन्थ दासले सर्व साधारणमा आग्रह गर्नुभयो ।
विगतका वर्षहरूमा यस दिन जनकपुरधाममा विशेष उत्सवको आयोजना गरेर मनाइँदै आएकोमा गत वर्ष देखि फैलिएको कोरोना महामारीका कारणले जानकी नवमी पर्व प्रभावित बनिरहेको छ । सामान्य अवस्थामा जनकपुरधामको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक तँलाउँहरु गंगासागर, धनुषसागर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर तथा दुग्धमतिमा स्नान गरेर विशेष पूजापाठ मन्दिरहरुमा गर्ने गरेका थिए ।
यसै बिच जानकी नवमी पर्वको अवसरमा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना दिनुभएको छ । मुख्यमन्त्री राउतले आज शुभकामना सन्देश जारी गर्दै जानकी नवमीले जनकपुरधाम सहित प्रदेश २ कै गरिमालाई विश्वमा स्थापित गर्ने महत्त्वपूर्ण अवसर भए पनि कोरोना फैलिएको कारण भव्यता दिन नसकेको बताउनुभएको छ ।
उहाँले यस पर्वलाई घर घरमा नै धूमधामका साथ मनाउनका लागि सबै प्रदेश तथा देशवासीमा आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button