तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा थपिए ९३ कोरोना संक्रमित, एक जनाको मृत्यु

तनहुँ । तनहुँमा बिहीबार एकै दिन ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार ४५ महिला र ४८ पुरुष मा संक्रमण पुष्टि भएको छ ।
योसँगै तनहुँमा सक्रिय कोरोना सङ्क्रमितको सख्या ७८५ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जसमा ३६३ जना महिला र ४२२ जना पुरुष रहेका छन् ।
यस्तै एक सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । जिल्लाको व्यास–१३ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको जेठ ५ गते बुधवार गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनमा गत वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै जिल्लामा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ४९ जना पुगेको छ । जसमा १८ जना महिला र ३१ जना पुरुष रहेका छन् ।
तनहुँ प्रशासनले भन्योः कोरोना उपचारका नाममा स्वैच्छिक रकम सङ्कलन नगर्नू
दोस्रो चरणको कोरोना महामारी सुरु भएसँगै समुदायमा सङ्क्रमितको सहयोगार्थ सञ्चालित सहयोग अभियानमाथि जिल्ला प्रशासन कार्यालय तनहुँले प्रतिबन्ध लगाएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना प्रकाशन गर्दै आफूखुसी कोरोना उपचार तथा निमन्त्रणका नाममा विभिन्न अभियान सञ्चालन गरिएकोले त्यस्ता अभियानका नाममा रकम सङ्कलन गर्ने र जम्मा गर्ने कार्य गर्ने कार्यलाई बन्द गर्न सूचित गरेको छ ।
यसरी रकम सङ्कलन गर्नु र जम्मा गर्नु गैर कानुनी कार्य भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताएको छ । यसका साथै स्वैच्छिक रुपमा यस प्रकारको सहयोग रकम जम्मा गर्न चाहनेलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरी जानकारी दिन समेत अनुरोध गरेको छ ।
व्यक्ति विशेष र संस्थाले यस प्रकारको कार्य गर्नु चन्दा ऐन, २०३० विपरीत भएकाले चन्दा नदिन र नलिन सर्वसाधारण प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । अन्यथा चन्दा ऐन २०३० को दफा १३ बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुनै व्यक्तिले स्वैच्छिक रुपमा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैङ्क सिंहदरबारमा रहेको कोषको खाता न १९६०००००११०१ मा जम्मा गर्न सकिने र जम्मा गरेपछि जम्मा गरेको भौचरको छायाप्रति कार्यालयलाई उपलब्ध गराउनु समेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button