तपाईँ सुन्दै हुनुहुन्छः

होम आइसोलेसनमा ज्यान गुमाउँदै सङ्क्रमित 

सल्यान । होम आइसोलेसनमा बस्दै आइरहेका कपुरकोट गाउँपालिका वडा न ३ का दुई पुरुषको बिहीबार घरमै मृत्यु भयो ।

अस्पतालमा ठाउँ नभएपछि होम आइसोलेसनमा बस्दै आएका छत्रेश्वरी गाउँपालिकाका एक संक्रमित पुरुषको पनि औषधि उपचार नै नपाएर मृत्यु भयो ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । सल्यानमा यसरी नै ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा सल्यान जिल्ला अस्पताल बिरामीले खचाखच भरिएका छन् । अस्पतालमा ठाउँको अभाव हुँदा अधिकांश संक्रमित आफ्नै घरमा बस्दै आइरहेका छन् । होम आइसोलेसनमा बस्दै आइरहेका नागरिकहरूले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउनु पर्ने बाध्यता रहेको छ । होम आइसोलेसनमा चिकित्सकीय उपचार तथा परामर्श नहुँदा नागरिकले अकालमा आफ्नो ज्यान गुमाइरहेका छन् ।

कोरोनाका महामारीले गर्दा सबैलाई अस्पतालमा भर्ना गर्न सक्ने अवस्था नरहेको सल्यान जिल्ला अस्पताल सल्यानका डा.भीमकान्त जैसीको भनाई छ ।

युवा अवस्थामा रहेको सङ्क्रमितको अक्सिजनको मात्रा ९० भन्दा कम र वृद्धहरू दमका , दीर्घ रोगीहरूको अवस्था हेरेर ८० देखि ८५ प्रतिशत भएकालाई मात्र भर्ना लिन सक्ने अवस्थामा रहेको उहाँको भनाई छ ।

सङ्क्रमितको सङ्ख्या धेरै हुनु र अस्पतालमा पर्याप्त मात्रामा बेडको अभावका साथै सङ्क्रमितलाई आवश्यक मात्रामा चाहिने अक्सिजनको अभाव हुँदा होम आइसोलेसनमै बस्न आग्रह गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो ।

जसको अक्सिजनको मात्रा एकदमै घटेको छ त्यस्ता खालका बिरामीलाई अस्पतालमा राख्ने गरेको उहाँको भनाई छ । होम आइसोलेसनमा बस्दै आइरहेका सङ्क्रमितहरूलाई स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई परिचालन गरेर सङ्क्रमितहरूको स्वास्थ्य स्थिति बुझ्ने कार्य भइरहेको पुनको भनाई छ ।

अक्सिजन आवश्यक पर्ने बाहेक अन्यलाई होम आइसोलेसनमा बस्ने सरकारको नीति भएकै कारण धेरै संक्रमित घरमै रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।

सल्यानमा हालसम्म १ हजार ८ सय ७५ जना कोरोना संक्रमित रहेका छन् जसमा १ हजार २ सय २८ निको भएर डिस्चार्ज भइसकेका छन् । हाल ६ सय ४ सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा ५ सय ५० जना रहेका छन् । सल्यान अस्पतालको आइसोलेसनमा २२ र संस्थागत आइसोलेसनमा ३२ जनाको मात्र उपचार भइरहेको छ ।

जिल्लामा ३२ जनाको मृत्यु हुँदा होम आइसोलेसनमा रहेका ९ जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जबकि संस्थागत आइसोलेसनमा तीन जनाले मात्रै ज्यान गुमाएका छन् । सामान्य अवस्था हुँदा घरै बस्न सुझाव दिने तर निगरानी नराख्नाले जोखिम बढेको छ ।

नियमित औषधि  उपचार अभावमा होम आइसोलेसनका सङ्क्रमितको ज्यान जोखिममा पर्दै गएको हो जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रदेखि टाढाका बस्तीमा चिकित्सक र स्वास्थ्यकर्मी पनि पुग्न नसक्ने अवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button