तपाईँ सुन्दै हुनुहुन्छः

तिनाउ गाउँपालिकाले खेतीयोग्य जमिनमा सिँचाइको पहुँच बिस्तार गर्दै

पाल्पा । तिनाउ गाउँपालिकाले उत्पादन बढाउन खेतीयोग्य जमिनमा सिँचाइको सुविधा बढाउन थालेको छ ।

गाउँपालिकाले चालु आव २०७६/०७७ देखि कृषियोग्य जमिनमा करिब ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच बढाउँदै अन्नबाली उत्पादनमा वृद्धि गर्ने योजनामा जुटेको छ ।

गाउँपालिका क्षेत्रभित्र ७ हजार १ सय १७ हेक्टर क्षेत्रफल कृषि खेतीयोग्य जमिन रहेको छ । जसमध्ये बाह्रै महिना सिँचाइको सुविधा भएको १ हजार ८ सय सात हेक्टर, र वर्षा याममा मात्रै सिँचाइ हुने क्षेत्र तीन हजार ५ सय २५ हेक्टर जमिन छ ।

आकाशे भरमा पनि पहाडी जिल्ला पाल्पामा सिँचाइ हुँदै आएको छ ।

१ हजार ७ सय ८५ हेक्टर क्षेत्रफलमा आकाशे पानीका भरमा सिचाई गर्न किसानहरू बाध्यता हटेको छैन ।

वर्षा नहुँदा पानीको अभाव किसानले अन्नबाली उत्पादनमा समस्या पैदा हुँदै आएको यहाँका किसानको गुनासो छ ।

सिँचाइ सुविधा पर्याप्त र भरपर्दो नहुँदासम्म कृषि उत्पादनमा वृद्धि गर्न समस्या हुने देखेर तिनाउ गाउँपालिका आगामी ५ वर्षको अवधिसम्म ४ सय हेक्टर जमिन सिँचाइको पहुँच बिस्तार गर्न लागेको हो ।

तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिका क्षेत्रभित्र रहेको कचलफाँटको ३ सय हेक्टर, ओखलढुङ्गाको जुकेफाँट, झयांगलाफाँटको १ हेक्टर, माराबास बडरेको ५० हेक्टर कृषि उत्पादन क्षेत्रमा सिँचाइको पहुँच बिस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्ने बताउनुभयो ।

कचलफाँटको १३ करोड लगानीमा सञ्चालित आयोजना करिब दुई वषर्मा सम्पन्न गर्ने योजना छ । जसमध्ये ५ करोड बजेट खर्च भइसकेको छ । १ करोडमा लगानी ओखलढुङ्गाको जुकेफाँटमा सञ्चालित सिँचाइ आयोजना यस आव सम्पन्न हुने गाउँपालिका अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

माराबाँस बडेरमा सञ्चालित आयोजना ५० हेक्टर जमिन सिँचाइ सुविधा हुनेछ ।

पहिला केन्द्रीयस्तरबाट सिँचाइका लागि बजेट प्राप्त हुँदै आएकोमा अहिले प्रदेश सरकार अन्तरगत बजेट प्राप्त भइरहेको छ ।

केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउन गरी बजेट व्यवस्था गरिने गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले  बताउनुभयो ।

निर्माणाधीन आयोजनालाई निर्माण कार्य छिटोछरितो रुपमा सम्पन्न गर्न र थप आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययनसहित आयोजनाको छनौट तथा कार्यान्वयन गर्ने नीति गाउँपालिकाको प्रवक्ता श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button