तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बसुन्धारामा ‘राधा स्वामी कोभिड आआइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले आज एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोना विरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

“हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौँ । जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौँ,” उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– “भारत सरकारले छिट्टै नेपाललाई लिक्विड अक्सिजन प्लान्ट सहयोग गर्दै छ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौँ ।”

विभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको लडाइँको समग्र नेतृत्व गर्नुभएको बताउनुभयो ।

उहाँले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह पनि गर्नुभयो । अहिले जति पनि भ्रमपूर्ण कुराहरू फैलिएका छन्, त्यसमा कुनै सत्यता छैन’– उहाँले बताउनुभयो ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेसन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकता अनुसार २ सय बेडसम्म सञ्चालन गर्न सकिने यस आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

आइसोलेसन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button