तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका १२ आयोजनालाई पूर्णता दिन ४७ अर्ब बजेटको माग 

जुम्ला  । कर्णालीको पूर्वाधार विकासलाई पूर्णता दिन करिब ४७ अर्ब बजेटको माग गरिएको छ ।

आगामी आवको बजेटमा कर्णालीका विशेष महत्त्व तथा गौरवका १२ वटा आयोजनाको विकास निर्माणलाई पूर्णता दिन करिब ४७ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएकोले विनियोजन गर्न माग गरिएको हो ।

कर्णालीको जीवनस्तर उकास्न, मित्र राष्ट्र चीनसँगको व्यापार प्रवर्द्धन गर्न, कर्णालीका विकट हुम्ला, डोल्पालाई सडकमा जोड्न, कर्णाली राजमार्गको स्तरबृद्धि गर्न र कर्णाली करिडोरको बाँकी कामलाई गति दिन लगायत अन्य गौरवका आयोजनामा करिब ४७ अर्ब बजेट चाहिने भएकोले सङ्घ सरकारलाई कर्णालीमा बिना कन्जुसाई विनियोजन गर्न माग गरिएको सडक विभाग पुल योजना सेक्टर ललितपुरमा कार्यरत इन्जिनियर तथा कर्णालीका विज्ञ अंगलाल रोकायाले बताउनुभयो ।

अपर्याप्त बजेटकै कारण कर्णालीको पूर्वाधार विकासले गति लिन नसकेकोले आगामी आवको बजेटमा कर्णालीका १२ वटा ठुला आयोजनामा प्राथमिकताका साथ बजेट छुटाउन आग्रह गरिएको छ ।

उहाँले भन्नुभयो, “हरेक वर्षमा सडक तथा पुल निर्माणमा सडक विभागको बजेट करिब १ सय २५ अर्ब विनियोजित हुन्छ । जसमा समग्र कर्णाली प्रदेशमा केन्द्रिय सरकारको जम्मा ५ प्रतिशत बजेट विनियोजित हुने गरेको छ ।”

उहाँले आवश्यकता अनुसार सङ्घ, प्रदेशले सरकारले कर्णालीको पूर्वाधार विकासमा बजेट नछुटाउँदा अधिकांश योजना अधुरै  रहेका छन् । एकै वर्षमा ४७ अर्ब बजेट छुटाउन नपर्ने र बहु वर्षीय ठेक्कामार्फत निर्माण हुने गरी २० देखि २५ प्रतिशत बजेट कर्णालीमा छुटाए अबको ५ वर्षमै कर्णालीको जीवनस्तर माथि उठ्ने बताउनुभयो ।

कर्णालीमा सङ्घीय बजेट विनियोजनको दायरा बढाउनका लागि दबाब दिन सङ्घमा प्रतिनिधित्व गर्ने कर्णालीका सांसद तथा विज्ञहरूलाई ध्यानाकर्षण समेत गराइएको छ ।

 कुन आयोजनामा कति बजेट आवश्यक ?
कर्णालीवासीको जीवनस्तर उकास्ने, कर्णालीको आर्थिक विकासमा टेवा पुर्‍याउने १२ वटा योजनालाई विज्ञहरूले महत्त्वका साथ लिएका छन् ।

जसमा कोहलपुर सुर्खेत सड्क डेडिकेटेड डबल लेन स्तरमा कालोपत्रे गर्न ३ अर्ब ५ करोड, सुर्खेत डोल्पा चीनको सिमाना सडक निर्माणमा ६ अर्ब २५ करोड, हुम्लाको ट्र्याक खोल्न ७० करोड, हुम्ला सडकका १४ वटा पुल निर्माण गर्न १ अर्ब ५० करोड, कर्णाली करिडोरको खुलालु सर्केघाट सडकमा १० वटा पुल निर्माण र १६ किमी सडक निर्माणमा ९ अर्ब २५ करोड कर्णाली राजमार्ग डबल लेन तथा स्तरबृद्धिमा ८ अर्ब २६ करोड बजेट आवश्यक पर्ने इन्जिनियर अंगलाल रोकायाको भनाई छ ।

साथै, नाग्म गमगडी सडक कालोपत्रे २ अर्ब ५० करोड, गमगडी नाक्चे लाग्ना सडकका १० वटा पुल निर्माणमा २ अर्ब ४० करोड, सुर्खेत महाबुलेख गाल्जे सडकको स्तरबृद्धि तथा ट्र्याक खोल्न २ अर्ब ७५ करोड, नाग्म गमगडी सडकमा १० वटा पुल ९० करोड, जाजरकोट जुम्ला जोड्ने सडक निर्माणमा ४ अर्ब ७५ करोड र मदन भण्डारी राजमार्गको सुर्खेत (बड्डिचौर)गुटु सडक खण्ड निर्माणका लागि ४ अर्ब ७२ करोड गरी करिब ४७ अर्ब ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ ।

१२ वटा योजना निर्माणको अनुमानित लागत, यी योजना निर्माणले कर्णालीको आर्थिक, सामाजिक विकासमा पुराउने राहत लगायतका विषयमा बजेट माग सहितको रिपोर्ट विकास समितिमा पेस गरिएको छ ।

आगामी ज्येष्ठ १५ गते नयाँ आ.व.का लागि आउने बजेटमा माथि उल्लेखनीय कर्णालीका १२ योजनालाई प्राथमिकता राख्न र पर्याप्त बजेट व्यवस्थापनको लागि संयुक्त आवाज बुलन्द गर्न समेत कर्णालीका सङ्घीय सांसदहरूको ध्यानाकर्षण गराइएको छ ।

यद्यपि बजेट जुटाउन कर्णालीका सांसदहरुले केन्द्रमा कसरत गर्नुपर्ने देखिन्छ । भने, विकट कर्णालीको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सडक पूर्वाधार विनियोजन कुल बजेटको २० देखि २५ प्रतिशत मात्रै कर्णालीमा अनिवार्य छुटाउन माग गरिएको छ ।

बजेट अभावकै कारण कर्णालीका दर्जनौँ विद्युत् आयोजना, सडक आयोजनाहरू अलपत्र अवस्थामा परेका छन् । लगानी अभावकै कारण कर्णालीका थुप्रै सम्भावनाहरू अवसरमा रूपान्तरण नहुँदा कर्णालीबाट तेस्रो मुलुक तथा भारत पलायन हुनेको सङ्ख्या अत्यधिक छ । लगानीकै कमीले सम्भावना भएर पनि कर्णाली आर्थिक विकास र मानव विकासको सुचाङ्कमा देशकै पछिल्लो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button