तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणबाट धनुषामा एक महिलाको मृत्यु 

जनकपुरधाम  । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना भएका एक जना महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं ९ का वर्ष ६० की महिला रहेको प्रादेशिक अस्पतालका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको पुष्टि भएर घरमा नै उपचारमा रहनु भएको महिलालाई श्वास प्रश्वासमा समस्या भएपछि बिहीबार भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको छ ।

शरीरमा अक्सिजनको मात्रा निक्कै कम भएका कारणले बचाउन नसकेको प्रादेशिक अस्पतालले जनाएको छ ।

विगत दुई दिन यता अस्पतालमा कोरोनाका गम्भीर बिरामीहरूको भर्ना हुने दरमा कमी आएका अस्पतालले जनाएको छ  ।

धनुषामा  थप १ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि
धनुषामा पछिल्लो पटक ३ सय ८४ वटा नमुनाको पिसिआर परीक्षण गर्दा १ सय ७५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सङ्क्रमणको दरमा केही कमी आएको छ ।

दुई दिन अगाडीसम्म ५० प्रतिशत संक्रमणदर रहेकोमा आज ४५ प्रतिशतमा झरेको छ ।

प्रदेश नंं २ मा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या उल्लेख्य
पछिल्लो दुई दिन यता प्रदेश नंं २ मा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उल्लेख्य रहेको छ । जेठ ५ र ६ गते गरेर १ हजार ५१ जना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जेठ ५ गते विभिन्न जिल्लाहरूमा रहेको ५ सय ८० पुरुष तथा १ सय ६ जना महिला गरेर ६ सय ८६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिनुभयो ।

यसै गरी जेठ ६ गते ३ सय पुरुष र ६५ जना महिला गरेर ३ सय ६५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

अहिले सङ्क्रमित हुने र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब करिब बराबर रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

खास गरेर कोरोना सङ्क्रमणमुक्त हुनेहरूमा विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनमा रहेका कोरोना सक्रमितहरु रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button