तपाईँ सुन्दै हुनुहुन्छः

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै

सिन्धुपाल्चोक  । सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

कोभिड– १९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि चौतारा अस्पतालको माग अनुसार स्वास्थ्य र अर्थ मन्त्रालयसँगको समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गर्नु भएको हो ।

दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढेको सभामुखको सचिवालयले जनाएको छ ।

जिल्ला अस्पताल चौतारा र जिल्लाका अरू स्वास्थ्य संस्थाहरूमा अक्सिजनको चरम अभाव भएपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएको भन्दै स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल २ हजार एन्टिजेन किट र बिरामीका लागि अक्सिजन उपलब्ध गराउन माग गरेको थियो । जिल्लाबाट भएको सोही पत्राचारका आधारमा सभामुख सापकोटाले स्वास्थ्य र अर्थ मन्त्रालयमा पत्राचार र समन्वय गरेपछि यो प्रक्रिया अघि बढेको हो ।

अबको केही सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले मूर्तरूप लिने सभामुखको सचिवालयले स्पष्ट गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button