तपाईँ सुन्दै हुनुहुन्छः

होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूको निगरानी गर्दै स्वास्थ्यकर्मी

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा तथा कोभिड अस्पताल दोधारा चाँदनीले सङ्क्रमितहरूलाई फोनमार्फत अवस्था बुझ्ने काम अघि बढाएको छ ।

दोधारा चाँदनी नगरपालिकामा अझैसम्म ३ सयभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने, ८ जना कोभिड अस्पताल दोधारा चाँदनीमा उपचारकै क्रममा रहेका छन् ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरूलाई ताजा स्वास्थ्य अवस्था जान्न तथा उनीहरूलाई उपचार तथा स्वास्थ्य परामर्श दिने कार्य अघि बढाउन लागेको कोभिड अस्पताल दोधारा चाँदनीका सूचना अधिकारी नन्दराज भट्टले जानकारी दिनु भएको छ ।

दोधारा चाँदनी नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको कोभिड अस्पतालको तथ्याङ्कले देखाउन थालेपछि कोरोना सङ्क्रमणलाई रोक्न, सङ्क्रमितहरूको स्वास्थ्य अवस्था बुझेर उपचार गरी समुदाय स्तरमा संक्रमण रोक्नको लागि कोभिड अस्पताल दोधारा चाँदनीको हटलाइन फोन नम्बरबाट फोन गरी होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूलाई स्वास्थ्य अवस्था बुझ्ने तथा स्वास्थ्य परामर्श दिने योजना अघि बढाइएको कोभिड अस्पताल दोधारा चाँदनीका डा.गगन चौधरीले जानकारी दिनुभयो ।

सङ्क्रमितहरूलाई फोनमार्फत सम्पर्क गर्दा समुदायमा कोरोना सङ्क्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोही अनुसार स्वास्थ्यका गतिविधिलाई अगाडि बढाउने कोभिड अस्पताल दोधारा चाँदनीको योजना रहेको छ ।

स्वास्थ्यकर्मीले होम आइसोलेसनमा तत्काल बिरामी भइहाले अस्पतालमा ल्याउने, सामान्य भएकाहरूलाई आवश्यक पर्ने औषधीहरूलाई घरमै उपलब्ध गराउने लगाएका कार्य गरिरहेका छन् ।

एक बिरामीबाट समुदाय स्तरमा संक्रमण नफैलियोस् भन्ने हेतुले होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूलाई निगरानी बढाइन थालेको कोभिड अस्पताल दोधारा चाँदनीको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button