तपाईँ सुन्दै हुनुहुन्छः

अक्सिजन प्लान्ट स्थापनाका लागि थप १७ करोड ८७ लाख निकासा

काठमाडौँ । सरकारले १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा दिने भएको छ ।
अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि सरकारले भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख, जिरी अस्पतालका लागि ८० लाख, बाजुरा अस्पतालका लागि ७५ लाख, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ निकासा गरेको  अर्थ मन्त्रालयले जनाएको रहेको छ ।
यस्तै गरी डोटी अस्पतालका लागि ८० लाख, अछाम अस्पतालका लागि ७५ लाख, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख, खोटाङ अस्पतालका लागि ७५ लाख, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख, सूर्य विनायक अस्पतालका लागि ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो ।
त्यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको थियो ।
त्यसै गरी विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँको सहमति दिएको थियो । यस्तै विभिन्न अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु थप गर्न ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमति दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button