तपाईँ सुन्दै हुनुहुन्छः

बाढीका कारण नदीमा फसेका दश जना कामदारहरूको उद्धार

कञ्चनपुर । गएरातिको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीस्थित महाकाली नदीमा आएको बाढीका कारण नदिमा अड्किएका दश जना कामदारहरूको उद्धार गरिएको छ ।
कुमार सिएस् इसी जेभी निर्माण फर्मले सडक निर्माणको लागि महाकाली नदी किनारमा राखेका जेनेरेटर, एक्स्काभेटर लगायतका मसिन बगाई क्षति पुर्‍याएको र १० जना कामदारहरू नदीमा अड्केको भनी शुक्रवार बिहान ०८ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाबाट प्रहरी टोली खटिई उक्त स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको टोलीले डुबानमा परेका कामदारहरूलाई शुक्रवार दिउँसो स–कुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।
बाढीबाट भएको अन्य क्षति सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
उद्धार गरिएका कामदारहरूको विवरण  :
१. जिल्ला कैलाली टिकापुर न.पा. वडा न.६ बस्ने वर्ष ४० का समसेर पुन मगर ।
२. ऐ.ऐ. बस्ने वर्ष २५ का विष्णु पुन मगर ।
३. ऐ.ऐ. बस्ने  वर्ष २८ का दिनेश पुन मगर ।
४. ऐ.ऐ.बस्ने वर्ष ३९ का जित ब.पुन मगर ।
५. ऐ.ऐ.बस्ने वर्ष १९ का आनन्द पुन मगर ।
६. ऐ.ऐ.बस्ने वर्ष ४९ का आस ब. बि.क. ।
७. ऐ.ऐ.बस्ने वर्ष २५ का गोविन्द रोक्का मगर ।
८. ऐ.ऐ. बस्ने वर्ष ६० का बलवीर घर्ती मगर ।
९. ऐ.ऐ. बस्ने वर्ष ३८ का ओमलाल मगर ।
१०. जिल्ला कञ्चनपुर भीमदत्त न.पा. १९ बस्ने वर्ष ४० का मनिराज जोशी ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button