तपाईँ सुन्दै हुनुहुन्छः

फिफा महिला विश्वकपको मिति घोषणा

काठमाडौँ । सन् २०२३ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने फिफा महिला विश्वकपको मिति घोषणा भएको छ ।
फिफा परिषद्को बैठकले महिला विश्वकपको मिति टुङ्गो लगाएको हो । विश्वकप २०२३ को जुलाई २० देखी अगस्ट २० सम्म हुनेछ । न्युजिल्यान्डको अकल्यान्डमा विश्वकपको उद्घाटन र अस्ट्रेलियाको सिड्नीमा फाइनल खेल हुनेछ ।
पहिलो पटक महिला विश्वकप जुलाई अगस्टमा हुन लागेको हो । यसअघिका संस्करण जुनको सुरुवात अथवा सेप्टेम्बर, नोभेम्बरमा हुँदै आएको थियो । आठौँ संस्करणको विश्वकपमा टिम सङ्ख्यामा वृद्धि गरी ३२ पुर्‍याइएको छ । विश्वकप छनोटका खेलहरू वर्षको अन्त्यबाट सुरु गरिने फिफाले जनाएको छ । पुरुष टिमको विश्वकप भने सन २०२२ नोभेम्बर डिसेम्बरमा कतारमा हुनेछ ।
त्यसका लागि अहिले छनोट खेलहरू सञ्चालन भइरहेका छन् । फिफाले अन्डर सेभेन्टिन महिला विश्वकपको पनि मिति तोकेको छ । भारतमा हुने विश्वकप सन २०२२ को अक्टोबर ११ देखी ३० सम्म हुनेछ । यस्तै कोस्टारिकमा हुने अन्डर ट्वान्टी महिला विश्वकप २०२२ को अगस्ट १० देखी २८ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button