तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर क्षेत्र नम्बर २ का सांसद धामीको सहयोग क्षेत्र नम्बर १ मा पनि

कञ्चनपुर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दिनहुँ बढिरहेको समयमा कोभिडबाट सङ्क्रमित बिमारीहरू अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावमा नआत्तिउन् भन्ने अभिप्रायका साथमा कञ्चनपुर क्षेत्र नम्बर २ का सांसद नरबहादुर धामीले आफ्नो निर्वाचन क्षेत्र सँगै कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि स्वास्थ्य सामग्री पठाउनु भएको छ ।

प्रतिनिधि सभा सदस्य धामीले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय स्वास्थ्य सेवा विभाग टेकु, काठमाडौँबाट माग गरी प्राप्त अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्रीहरू गृह जिल्ला कञ्चनपुर पठाउनु भएको छ ।

विभागबाट २० थान अक्सिजन सिलिन्डर, २ सय थान गाउन, ६ सय थान एन नाइन्टी फाइभ मास्क, २ हजार थान सर्जिकल मास्क, ६० थान सेप्टी चस्मा, ५ सय मिलिलिटर स्यानिटाइजर, ८ थान गन थर्मामिटर, ४ पेटी भीएससीटी डिस्पोजल र १ सय ८० थान भीटीएम प्राप्त भएको प्रतिनिधि सभा सदस्य धामीका स्वकीय सचिव अर्जुन भट्टले जानकारी दिनुभयो । ती सामग्रीहरूलाई कञ्चनपुर क्षेत्र नम्बर २ का कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र वेदकोट नगरपालिका तथा कञ्चनपुर क्षेत्र नम्बर १ को बेलौरी नगरपालिकालाई समान रूपले वितरण गरिएको छ ।

उक्त सामग्रीका बारेमा टेलिफोन प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले भन्नुभयो “गृह जिल्लाका स्वास्थ्य संस्थाहरूमा दैनिक जसो कोभिडबाट सङ्क्रमित बिरामीहरू बढिरहेको अवस्थामा केही नगरी बस्नु नैतिकताले पनि मान्दैन, त्यसैले सक्दो पहल गरेर विभागबाट केही सामाग्री पठाएको छु । विभागबाट माग गरेका सबै सामानहरू त पर्याप्त पाइएनन् तैपनि प्राप्त सामानहरूलाई आफ्नै खर्चमा गृह जिल्लाका विभिन्न पालिकाहरूमा पठाएको छु ।” उहाँले अझै थप सामग्रीका लागि विभिन्न निकायमा माग गरिरहेको बताउनुभएको छ ।

“आफ्नो निर्वाचन क्षेत्रमा पठाउने कुरा त स्वाभाविक भयो । कञ्चनपुर क्षेत्र नम्बर १ का लागि पनि सहयोग गरिदिनु पर्‍यो भन्दै काठमाडौँमा आफूसँगै दौडधुप गर्ने बेलौरीकै मर्यादा विष्ट (अनेरास्ववियुकी नेतृ) को पनि ठुलो चिन्ता चाँसो र भूमिका रहेको छ । त्यसैमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट कमला बोहरा सहितका साथीहरूले पनि आफ्नो क्षेत्रका सांसदले बेवास्ता गरेकोले सहयोगका लागि धेरै आग्रह गर्नुभयो । त्यसैले थोरै भए पनि बेलौरीमा पनि केही सामान पठाएको छु,” प्रतिनिधि सभा सदस्य धामीले भन्नुभयो ।

बेलौरी नगरपालिकाका लागि पठाइएको अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्रीहरू जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ, नेकपा एमालेका नेताहरू पल्लव राज भट्ट, रामकृष्ण श्रेष्ठ, धनेशदत्त पन्त, भवानी शङ्कर रेग्मी, बुद्धिजीवी प्रेमसिंह बोहरा, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, विद्यार्थी नेता हेमन्त रेग्मी, स्वास्थ्यकर्मी ममता विष्ट सहित बेलौरी काठमाडौँ समाजका प्रतिनिधिहरूको रोहबरमा प्रतिनिधि सभा सदस्य धामीका स्वकीय सचिव अर्जुन भट्टले बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीलाई हस्तान्तरण गर्नुभएको छ ।

त्यस्तै, कञ्चनपुर क्षेत्र नम्बर २ का कृष्णपुर नगरपालिकामा नगर प्रमुख कर्ण बहादुर हमाल तथा उपप्रमुख रमिता राना बडायक, शुक्लाफाँटा नगरपालिकामा नगर प्रमुख दिल बहादुर ऐर तथा उपप्रमुख तुलसी हमाल र वेदकोट नगरपालिकामा नगर प्रमुख अशोक कुमार चन्द तथा उपप्रमुख सुशीला सिंह सहितको टोलीलाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको प्रतिनिधि सभा सदस्य नरबहादुर धामीका स्वकीय सचिव अर्जुन भट्टले बताउनु भयो । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी प्रतिनिधि सभा सदस्य धामी मार्फत प्राप्त सहयोगका लागि सबैले आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button