तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न दिन उपयुक्त

काठमाडौँ । नेपालमा विदेशी सिमेन्टको आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न दिन उपयुक्त हुने नेपाल राष्ट्र बैङ्कको एक अध्ययनले देखाएको छ ।

नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययनले नेपालमा उपलब्ध चुनढुङ्गा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न दिन उपयुक्त हुने सुझाव दिएको हो ।

अध्ययनले सामाजिक र आर्थिक पाटोलाई विश्लेषण गर्दै सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरू सिर्जना भएको, उद्योग वरिपरि रहेका जमिनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायतका सकारात्मक प्रभावहरू परेको भएता पनि वातावरणीय प्रदूषण सम्बन्धी नकारात्मक असर परेको उल्लेख गरेको छ ।

हाल नेपालमा सञ्चालित ५५ सिमेन्ट उद्योगहरूमध्ये ३ वटा प्रत्यक्ष विदेशी लगानीका, २ सरकारी स्वामित्वका  र ५० निजी स्वामित्वका रहेका छन् ।

लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्यता रहेको छ ।

यस परिप्रेक्ष्यमा नेपालमा विशेषतः प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्ति लगायत ती उद्योगहरूको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरी नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको सम्बन्धी अध्ययन सम्पन्न गरिएको नेपाल राष्ट्र बैकले जनाएको छ ।

 

यस अध्ययनले विदेशी लगानी रहेको ३, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २, २ गरी ७ उद्योगहरूलाई समेटेको छ ।

अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ ।

यसै गरी, आन्तरिक रुपमा यी उद्योगहरूबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ ।

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरूको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरूको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरूको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरूको सञ्चालन र मुनाफा राम्रो रहेको अध्ययनले देखाएको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ ।

स्थापित उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button