तपाईँ सुन्दै हुनुहुन्छः

दुहबीमा नगर आधारभूत अस्पतालको तयारी पुरा

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ४५ बेडको आइसोलेसन र १५ बेडको नगर आधारभूत अस्पताल आइतबार देखि सञ्चालन हुने गरी अन्तिम तयारी पुरा भएको छ ।

दुहबी नगरपालिकाले आइसोलेसन केन्द्र सञ्चालनको अभियानलाई तीव्र पार्दै कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि अक्सिजन सहितको ४५ बेडको आइसोलेसन र १५ बेडको नगर अस्पताल आइतबारदेखि सञ्चालन हुने गरी अन्तिम तयारी पुरा भएको आज शुक्रवार पत्रकार सम्मेलन गरी नगर प्रमुख बेद नारायण गच्छदारले जानकारी गराउनुभयो ।

उक्त अस्पताल दुहबी वार्ड न.८ स्थित रमपम उद्योगको पूर्वपट्टि निमार्ण गरिएको आधारभूत अस्पतालमा इमर्जेन्सी, प्रयोगशाला, इसिजी, एक्स-रे इन्डोर कक्ष सहित अस्पतालको लागि १५ वटा कोठा तयार गरिनुको साथै अस्पतालको छेउमै ४५ बेडको अक्सिजन सहितको आइसोलेसन केन्द्र समेत निमार्ण गरिएको नगर प्रमुख गच्छदारले बताउनुभयो ।

उक्त अस्पतालमा २४ घन्टे इमर्जेन्सी सेवा, स्वास्थ्य बिमा कार्यक्रमको प्रथम बिन्दु र औषधी समेत उपलब्ध गराउने जनाइएको साथै अस्पतालमा ल्याब सेवा, भिडियो एक्स-रे सेवा र परिवार नियोजन तथा गर्भवती जाँच सेवा रहनेछ । सेवा सञ्चालनका लागि १ जना विशेषज्ञ सहित ३ जना चिकित्सक र  ११ जना स्वास्थ्यकर्मी, २ कार्यालय सहयोगी र २ जना सफाइकर्मी रहने गच्छदारले बताए ।

अक्सिजन सहितको आइसोलेसन सेन्टरमा ४५ वटा बेडको व्यवस्था गरिनुका साथै अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन  सिलिन्डर सेवा सहित डाक्टरहरूबाट नियमित फ्लोअप, सिसिटिभीबाट निगरानी सहित सुरक्षाको प्रबन्ध समेत मिलाइएको जनाइएको छ ।

सो अस्पताललाई सारडा ग्रुपले आज शुक्रवार नगर प्रमुख गच्छलारलाई ५ लाख मूल्य बरावरको ४९ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको विनायक अक्सिजनका व्यवस्थापक आनन्द सिंहले बताउनुभयो ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गच्छदारले कोभिड को महामारीबाट आक्रान्त भइरहेको बेलामा सारडा ग्रुपले गरेको सहयोग अतुलतिय रहेको बताउनुभयो ।

सारडा ग्रुपले आइसोलेसन केन्द्रमा उपचारार्थ आउने सम्पूर्ण कोभिड सङ्क्रमितहरूलाई आवश्यक पर्ने अक्सिजन (ग्यास) तथा खाना निःशुल्क रुपमा उपलब्ध गराउने सारडा ग्रुपका अमित सारडाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button