तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री गुरुङले दोलखामा होम आइसोलेसन किट पठाउनुभयो

File photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’ पठाउनुभएको छ । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शङ्का लागेमा वा पुष्टि भएमा जिल्लावासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्न ‘होम आइसोलेसन किट’सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुग्ने गरी पठाउनुभएको हो ।

“स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामाग्री सङ्क्रमितले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो”, उहाँले भन्नुभयो, “दोलखा हेल्थ फाउन्डेसनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यकताको आधारमा वितरण गरिनेछ ।”

काठमाडौँबाट पठाइएको औषधिसहितको सो किटमा चिकित्सकको परामर्शमा सङ्क्रमितका लागि अत्यावश्यक औषधि तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन् । मन्त्री गुरुङले कोभिड संक्रमण हुने बित्तिकै हताश वा निराश हुने अवस्था आएकाले दोलखावासीलाई ढुक्क भएर स्वास्थ्यलाभ गर्न सो किटको व्यवस्था गरिएको बताउनुभयो ।

काठमाडौँका अस्पतालमा सङ्क्रमितको चाप बढ्न थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उहाँले आफ्नै सक्रियतामा  दोलखा घर भई काठमाडौँलगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू रहेको सो फाउन्डेसनको स्थापना गर्नुभएको हो ।

मन्त्री गुरुङले दोलखाली जनतालाई कोभिड संक्रमण हुनु नदिन, भए उपचारका लागि परामर्श लिने, अस्पतालमा आवश्यकता परे उपचारको राम्रो व्यवस्था गर्न सो फाउन्डेसनले काम गर्ने समेत स्पष्ट पार्नुभयो । हरि जिरेल संयोजक रहनुभएको फाउन्डेसनमा चिकित्सक तथा स्वास्थ्यकर्मी पनि आबद्ध छन् ।

यसैबिच, मन्त्री गुरुङले कोभिड सङ्कट आउन नदिन दोलखा बासी जनताको घरघरमा पुगेर सेवा दिने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक सङ्घ, संस्था,सञ्चारकर्मीसहित सबैलाई धन्यवाद दिनुभएको छ ।

उहाँले जनताको जीवनको सुरक्षा गर्ने दायित्व तीन वटै तहको सरकारले लिएको उल्लेख गर्दै कोभिड विरुद्धको अभियानमा उच्च मनोबलका साथ जुट्न पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभएको छ । मन्त्री गुरुङले आज दोलखावासीको नाममा जारी गर्नु भएको अपिलमा भनिएको छ,“घरघरमा पुगी कोभिड सङ्कट समाधानमा लाग्ने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक सङ्घ, संस्था, सञ्चारकर्मीसहित सबैलाई धन्यवाद दिन चाहन्छु । सङ्कटको यस घडीमा दोलखाली जनताको स्वास्थ्य सुरक्षामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button