तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा लकडाउनको समयमा हुने तस्करी रोक्दै प्रहरी

कञ्चनपुर ।  कञ्चनपुरमा स्थानीय प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरे पनि  दोधारा चाँदनी नगरपालिकासँग जोडिएको नेपाल–भारतको खुला सीमा क्षेत्रमा भने तस्करी नरोकिएपछि प्रहरीले सक्रियता बढाएको छ ।
प्रहरीले सक्रियता बढाएसँगै भारतबाट ल्याउँदै गरेको अवैध समान धमाधम बरामद गर्न थालेको छ ।
आज बिहान दोधारा चाँदनी नगरपालिका वडा नं. १ गडीगोठ र वडा नं. ७ कञ्चनभोज गरी दुई स्थानबाट नेपाल–भारत सीमा क्षेत्रमा भारतबाट ल्याउँदै गरेको झण्डै रु. २० हजार बराबरको चिनी, गुढ र कुखुराको अण्डा बरामद गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत राज गिरीले जानकारी दिनु भएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको गस्ती टोलीले भारतबाट ल्याउँदै गरेको अवस्थामा उक्त अवैध समान बरामद गरेको हो ।
प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरू समान छाडेर भागेको बताइएको छ । बरामद कुखुराको अण्डालाई स्थानीय, जनप्रतिनिधि तथा पत्रकारको रोहवरमा खाल्डोमा हालेर नष्ट गरिएको छ भने बरामद गरिएको चिनी र गुडलाई भन्सार कार्यालय गड्डाचौकी पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएको बेला कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा दोधारा चाँदनी नगरपालिकामा स्थित नेपाल प्रहरीले अहम् भूमिका निर्वाह गर्दै आएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गर्दै आएका  छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button