तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

अछाम । अछामको कमलबजार पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको  पिसीआर प्रयोगशालामा ९६ नमुना परीक्षण गरिएकोमा ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मङ्गलसेनको जिल्ला अस्पताल , बान्निगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका र कमलबजार नगरपालिकामा  सङ्कलित ९६ जनाको स्वाबको पीसीआर परीक्षण गरिएको परीक्षणमा २१ जना महिला र ६९ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको रामारोशन गाउँपालिकाका रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ र ६ का ११ जना महिला र २९ जना पुरुष गरी ४० जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३, ५ र ६ का ९ जना महिला र १२ जना पुरुष गरी २१ जना, मङ्गलसेन नगरपालिका वडा नम्बर ५ का १ जना महिला र १४ जना पुरुष गरी १५ जना , कमलबजार नगरपालिका वडा नम्बर २, ६, ८ र १० का ८ जना पुरुष , ढकारी गाउँपालिका वडा नम्बर ८ का ३ जना पुरुष , त्यस्तै साँफेबगर नगरपालिका वडा नम्बर ४ का २ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौरपाटि गाउँपालिका वडा नम्बर ५ का १ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हाल सम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार २ सय ९७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ७ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button