तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका एघार पूर्व सांसदलाई स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप उहाँहरूलाई लगाएको छ ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय गर्ने बताइएको छ ।   जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ ।  उहाँले कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल गरिएको बताउनुभयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिस गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गर्नुभएको थियो ।
यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो । तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारबाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो ।
पार्टी कार्यदलले समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उहाँको भनाइ थियो ।  उहाँले गत वैशाख २७ गते संसद्मा अनुपस्थित भएर केही साथीहरूले जुन गल्ती गर्नुभयो फेरि त्यो गर्नुहुन्न भन्ने प्रधानमन्त्रीलाई लागेको उहाँले बताउनुभयो ।
पार्टीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button