तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको पिखुवा खोला लिफ्टिङ खानेपानीको धारा परीक्षण सुरु

भोजपुर । खानेपानी संकट देखिएको भोजपुरको रामप्रसाद राई गाउँपालिकामा पिखुवा खोला लिफ्टिङ आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै धारा परीक्षण कार्य सुरु गरिएको छ ।
लिफ्टिङको काम सकिएपछि गाउँपालिकाको वडा नम्बर ५ मानेभञ्ज्याङका बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षणको काम सुरु भएको हो ।
 पिखुवा खोलाबाट पम्पिङ, टयाङकी निमार्ण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब १२ करोड ४० लाखमा निमार्णधिन आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण समितिले जनाएको छ ।
खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै पिखुवाखोला मानेभञ्ज्याङ पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले घेरावारा र एउटा टयाङकी निमार्णको काम बाँकी रहेको बताउनु भयो । परिक्षण सम्पन्न भएसँगै एक घर एक धारा सिस्टमबाट पानी वितरण गर्ने तयारी भएको  अध्यक्ष तामाङले जानकारी दिनु भयो ।
खानेपानीको संकट बेहोर्न बाध्य गाउँवासी गाउँमा लिफ्टिङ सिस्टमबाट तानेको पानी आउने भए पछि खुसी देखिएका छन् । खानेपानी कै समस्याले बसाई सराई जान तयार भएको आफु घरमा खानेपानी आएपछि बसाई नजाने निर्णयमा पुगेको स्थानीय कमला तामाङको भनाई रहेको छ । एक गाग्रो खानेपानीका लागि स्थानीयहरू दैनिक १ घण्टाको दुरीमा पानी लिन जानु पर्ने बाध्यता हट्ने भए पछि आफूहरू खुसी भएको तामाङको धारणा छ ।
लिफ्टिङको सफल परिक्षण पश्चात् लामाआल डाँडा वितरण केन्द्रबाट उपभोक्ताको घरमा दैनिक बिहान ४ घण्टा र बेलुका २ घण्टा पानी वितरण हुने उपभोक्ता समितिका सचिव जगत चौहानले बताउनु भयो । आयोजनाबाट रामप्रसाद राई गाउँपालिका क्षेत्रका ४ सय २० घरधुरी लाभान्वित हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button