तपाईँ सुन्दै हुनुहुन्छः

‘झगडाको जड बन्यो खानेपानी’

 बझाङ । कतिपय बझाङका मानिसहरूलाई पनि थाहा नहुन सक्छ काँडा चौर गाउँ कहाँ पर्छ भनेर ।  केदारस्युँ गाउँपालिकाको अन्तिम मानव वस्ति वडा नम्बर ७ को भामचौर पुग्नु भन्दा अगाडी आउँछ सुन्दर गाउँ काँडाचौर । पछिल्लो समयमा देउरा बजार बागथला हुँदै बुंगल नगरपालिकाको रल्लेखबाट समेत यातायातको सुविधाबाट पनि काँडाचौर पुग्न सकिन्छ ।
बाहिरबाट देख्दा जति सुन्दर देखिएपनि काँडचौर बासीको भित्री पीडा भने बेग्लै छ ।
गाउँमा पुगेका जो कोही मानिसहरू त्यहाँका मानिसहरूको दैनिकी देखेर अचम्ममा पर्ने गर्दछन् ।
काँडाचौरका मानिसहरूको प्रत्येक घरका एकजना सदस्यको कामनै दिनभर पानी बोक्ने मात्रै रहेको छ । १५० घरधुरी रहेको काँडाचौर गाउँमा खानेपानीको समस्या विकराल छ ।
गाउँकी न्युमा धामी उमेरले ६० बर्ष पुगिन उनले पानीको कथा सुनाउँदै भनिन् “कपाल पुरै फुलिसक्यो, यहाँ विवाह गरेर आएदेखि एक दिन खाली नभएर पानी बोक्दै बुढी भइसके, दुई घण्टा भिडेर पानी बोक्नु पर्छ । गोठमा गाई गोरु कराउँदै छन् । मानिस त खानलाई पानी पाउदैन्न गोरुलाई कहाँबाट ल्याएर दिऊँ । ‘तीन ओटा धारा हुन गाउँमा रोड काट्या पछी तिनै धारा बन्द भया ।’
खानेपानीकै समस्याका कारण गाउँमा झगडा नभएको दिन खाली नभइको धामीले बताउनुभयो । ‘झगडाको जड भनेकै पानीको हो । धारामा अलिअलि पानी आउँछ त्यही भर्नाको लागि लुछाचुँडी हुने गर्छ । पानीकै कारण कतिपय दाजुभाहरुसंग बोलचाल नै बन्द भएको छ ।’
स्थानीय जसुली धामीका ब्यथापनि उस्तै छ ।  “पानीका चिन्ताले रातभर निन्द्रा नै लाग्दैन । पानी नभएकै कारण कतिपय दिन भोकै समेत बस्ने गरेका छौ’, जसुलीले पीडा सुनाइन् ।
‘ठुलो परिवार भयो । पानी धेरै चाहिन्छ । दिनानुदिन एक जनालाई त पानीकै जिम्मा दिएर पानी मात्रै बोक्ने काम लगाउनु पर्छ’, उनले भनिन् ।
धेरै बर्ष अगाडी गाउँमा घरधुरी कम थिए । पछिल्लो समय घरहरू बढेसँगै बनजंगल पनि मासिँदै गएको र पानीको पनि मुहानहरू सुक्दै गएकाले पानी अभाव भएको स्थानीयहरू बताउँछन् ।
‘केही बर्ष अगाडी गाउँमा धारा बनाउने भनेर सामान बोकेर गाउँसम्म ल्याएपनि धारा नबनेको’ जसुलीले बताइन् ।
काँडाचौर मात्र नभएर वडा नम्बर ७ को भामचौरवासीको समस्या पनि  उस्तै छ । पानी नभएका कारण कतिपय मानिसहरूले अन्तै बसाइसराई समेत सरिरहेको स्थानीय धनबहादुर धामीले बताए ।
काँडाचौरका प्रदेश र गाउँपालिका दुवै ठाउँबाट रकम छुटाइएको र यो वर्षबाट खानेपानीको सर्वे गरी काम सुचारु गर्ने,  केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताउनुभयो ।
धेरै गाउँहरूमा खानेपानीको समस्या रहेकाले अन्य नियकायहरुसंग पनि त्यस विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button