तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

लमजुङ। यहाँस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति १०ः०० बजे प्लान्ट जडान गरेर स्थापना गरिएको हो ।

अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भन्नुभयो, “दिउँसोबाट सुरु गरेर राति अक्सिजन प्लान्ट जडान गरिसक्यौँ, प्लान्ट स्थापना भइसके पनि हाल प्लान्ट निर्माण गरिएको घरको छानो हाल्ने काम आज सकिन्छ, त्यसपछि अब दुई दिनभित्रै वितरण गर्ने तयारीमा छौँ ।” अक्सिजन उत्पादन गर्न सुरु गरेकाले प्लान्टले अब भने अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा विगतका भन्दा धेरै सहज हुने उहाँको भनाइ छ । जिल्लामा शनिबार बिहान प्लान्टका निर्माण सामग्री आइपुगेपछि दिउँसोबाट जडान कार्य थालनी गरेको थियो ।

यस अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेछ  । यहाँ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेसन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने तयारी भएको साथै अस्पतालका ८३ शय्यामा नै पाइपलाइन जोड्ने अस्पतालले जनाएको छ । तत्कालका लागि भने कोरोना सङ्क्रमितलाई प्राथमिकता दिँदै २५÷३० शय्यामा मात्र वितरण गर्ने अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।

अस्पतालमा अक्सिजनसहितको २५ शय्या आइसोलेसनको रहेको छ । यहाँ हाल ५० अक्सिजन सिलिण्डर रहेको बताइएको छ । यहाँ यति बेला १७ कोरोना सङ्क्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरूलाई दैनिक १७ वटा अक्सिजन आवश्यक पर्ने र पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले भन्नुभयो, “अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सरकारले गत मङ्सिर महिनामा रु ७५ लाख पठाएको थियो, सोही बेलाबाट ठेक्का प्रक्रिया सुरु गरेर रु ५५ लाखमा प्लान्ट ल्याउने जिम्मा ओटु कन्सर्नलाई दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button