तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा कोभिड महामारी विरुद्ध लड्न सभामुख सापकोटाको पहल

सिन्धुपाल्चोक।सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकमा कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका छन् भने अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढेको छ ।

यही हप्ता सभामुख सापकोटाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको योजनामा संशोधन गरी पन्ध्र लाख रकम अक्सिजन प्लान्ट स्थापनाका लागि छुटाउनु भएको सचिवालयले जनाएको छ ।सभामुखको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री उहाँको सचिवालय मार्फत जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँका स्वकीय सचिव गोविन्द पाठकले सो जानकारी दिनुभएको हो ।

कार्यक्रममा सचिवालय मार्फत हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरूमा २१ लिटरको एक थान अक्सिजन कन्सन्टेटर, एन–९५ मास्क १०० थान, सर्जिकल मास्क एक हजार थान, पिपिई सेट ३० थान, स्यानिटाइजरलगायत रहेका छन् । तत्काल १०० थान भरिएको अक्सिजन सिलिण्डर, २० थान अक्सिजन कन्सन्टेटर र दुई हजार थान एन्टिजेन किट जिल्लामा आइपुग्ने सभामुखका स्वकीय सचिव पाठकले जानकारी दिनुभयो । बाँकी सामग्री क्रमशः जिल्लामा पुग्ने व्यवस्था मिलाइएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।

यस्तै जिल्लाबाट सङ्कलित ५३ थान अक्सिजन सिलिण्डर भर्ने क्रममा रहेको र यसै हप्ता जिल्लामा पुग्ने व्यवस्था मिलाइएको स्वकीय सचिव पाठकले बताउनुभयो । कोभिड–१९ का कारण समस्यामा परेका परिवारका ५० बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गरिएको यो क्रम जारी रहेको उहाँको भनाई छ ।
उपचार अभावमा नागरिकको जीवन थप जोखिममा पर्न नदिन सभामुख सापकोटाले अघिल्लो हप्ता मात्रै जिल्लामा चौतारा अस्पतालको मागपत्रका आधारमा अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गर्नु भएको थियो । केही हप्तामै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको कामले मूर्तरूप पाउने पाठकले जानकारी दिनुभयो ।

यसैबिच सभामुखले कोभिड–१९ का कारण समस्यामा परेका सिन्धुवासीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवसायी एवं समाजसेवीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । उहाँले कोरोना महामारी अझ बढिरहेकोले सतर्क रहन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अपिल गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button